गृहपृष्ठ Featured मन्‍त्रिमण्डल फेरबदल हुने कुरा हल्ला मात्रै : प्रचण्ड

मन्‍त्रिमण्डल फेरबदल हुने कुरा हल्ला मात्रै : प्रचण्ड

मन्त्रिमण्डल फेर्ने कुराले चर्चा पाइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने हल्ला मात्र भएको प्रतिक्रिया दिएका छन्। पार्टी प्रशिक्षणका क्रममा शुक्रबार धनगढी पुगेका दाहालले धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्रीको अधिकार क्षेत्रको कुरा आफूलाई नसोधिदिए हुन्थ्यो भन्दै यस्तो बताएका हुन्।

‘मन्त्रीमण्डल परिवर्तन गर्ने कुरा प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र पर्छ, त्यसैले त्यो कुरा मलाई नसोधिदिए हुन्थ्यो जस्तो लाग्छ,’ दाहालले भने, ‘ हामी अध्यक्षबीचमा यस बारेमा कुनै पनि कुरा भएको छैन।’

उनले नेपालको दक्षिणी छिमेकी भारत र उत्तरको छिमेकी चीनसँगको सम्बन्ध अझ सुमधुर भएको बताए । नेपाल र भारतका प्रधानमन्त्रीले केही महिनाअघि संयुक्तरुपमा गरेको पेट्रोलियम पाइप लाइनको उद्घाटन र चीनका राष्ट्रपतिको ऐतिहासिक भ्रमणले नेपालको दुई देशबीचको सम्बन्ध अझ सुमधुर भएको उनले बताए ।

चीनका राष्ट्रपति सी जिनपिङ आएका बेला भएको २० बुँदे सम्झौतामा सुदूरपश्चिमका कुनै पनि योजना नसमेटिएकोमा आलोचना भइरहेका बेला अध्यक्ष दाहालले सम्झौतामा नलेखिए पनि भविष्यमा कुनै न कुनै योजना चीनले बनाइदिने प्रतिक्रियादिए ।

सम्बन्धित् समाचार