गृहपृष्ठ Featured गुल्मीमा एक दम्पत्तीका १९ छोराछोरी, १०२ नातिनातिना

गुल्मीमा एक दम्पत्तीका १९ छोराछोरी, १०२ नातिनातिना

प्रकाशित मिति:

एक दिनको भोजभतेर उम्काउन त कुनै परिवारलाई कति मुस्किल पर्छ भने दैनिक झण्डै ५० जनालाई खाना पकाउनु र खुवाउनु पर्दा कति गाह्रो हुँदो होला ! र पनि, गुल्मी मुसिकोटको एक परिवारले दैनिक खड्करो र ताउलोमा खान पकाएर वर्षौँसम्म घर चलाएका थिए ।

मुसिकोट नगरपालिका वडा नम्वर २, खस्थोक अमराईका स्वर्गीय मेघबहादुर महतका परिवारको कथा हो यो, जसको ६ भाइ छोरा र १३ वटी छोरीसहित १९ सन्तान थिए ।

उनीहरुबाट जन्मिएका सन्तान अर्थात मेघबहादुर महतका नातीनातिनी मात्रै १०२ जना छन् । नाम मेघबहादुर वा मिनबहादुर जे भनिए पनि  स्थानीयले कुन्दाले साहु भनेर उनलाई चिन्दथे ।

यस्तो थियो कुन्दाले साहुको रजगज

उनको घर अमराईको कुन्दाला हो । तर उनले पारी उपल्लोफाँटमा प्रशस्त खेत जोडेका थिए । कम्तीमा पाँच सय मुरी धान उब्जाउँथे । त्यो बेलामा दुई चारवटा घोडा बाँध्थे । पचास वटासम्म गाई–भैँसी पाल्ने गर्थे । छोरी–बुहारीहरु दैनिकजसो रातको दुई बजेदेखि नै गोठमा गाई–भैँसीलाई पानी तताउन आगो फुक्न थाल्थे ।

एकातिर टुकी बालेर ढिकीजाँतो नार्दै गरेको गाउँबासीले चिहाउँदा उता ‘कुन्दालेका छोरीबुहारीहरु उठेछन्, हामी पनि उठौँ’ भनेर उठ्थे महिलाहरु । पुरुषहरु कतै झिसमिसेमा जानु परे कुन्दालेकोमा नउठेसम्म मध्यरात हुन सक्छ भनेर चिहाउने गर्दथे ।

उनको फाँटमा धान झाँट््ने दिन र दाइँ लगाउने दिन किसान–मजदुरका लागि एउटा ठुलै पर्वजस्तै मानिन्थ्यो । मृत्यु भईसकेका एक जना ‘मुसे दाई’ भन्ने व्यक्ति थिए । उनले धान झाँटेर खाना खाने बेलामा उनै कुन्दाले महतका गोसीनीहरु ‘मलाई थालमा होइन सुपो (नाङ्लो) मा खान पस्किनुस्’ भनेर भनेको कुराले त्यो ताका निकै चर्चा पाउने गर्दथ्यो ।

हुन पनि दैनिक खड्करो र ताउँलोमा खाना पाक्थ्यो । घरमै खसीबोका नढाले अन्यत्रबाट ल्याएको मासु उनको परिवारमा छोप (चट्नी) पनि लाग्दैनथ्यो ।

३९ जनाको भान्छा एउटै

मेघबहादुरका छोरा मोतीबहादुर भन्छन्, ‘हामी १९ जना छोरा–छोरी हुँदा हाम्रो परिवारमा खाना खाने सदस्य ३९ जना हुन्थे । त्यतिका जनालाई  खड्करो, ताउँलो वा के भाँडोमा पकाउनु पर्ला ? आफैँ सोच्नुस् । धेरै जना छोराछोरी भएका कारण कोही खोरिया फाँडेर खेतीयोग्य जमिन बनाउँदै गोठ बनाएर गाई–भँैसी पालेर बस्थ्यौं ।’

उनका गाई बान्ने गोठ र भैँसी बान्ने गोठ बेग्लै हुन्थ्यो । बाख्राहरु पनि थुप्रै हुन्थे । उनले भने, ‘भैँसी त ५० वटासम्म पाल्ने गरेका थियौं । बुवाआमा सबै जना कृषि र पशुपालन मै रमाएको परिवार हौं ।’

नातिनातिना मात्रै १०२ जना

उनले बाबुका १९ छोराछोरीबाट भएका नातीनातिनाको संख्या १०२ जना  रहेको बताए । ‘पनाती पनातिनी गनेको भए त कति पुग्थ्यो होला ?’ उनले प्रश्न गरे ।

उनले १९ सन्तानमध्ये एक दिदीको मात्र मृत्यु भएको र अरु सबै सकुशल रहेको बताए । दाजुभाइ हाल अलग–अलग घरबार गरेर बसेको उनको भनाइ छ ।

‘हाम्रा हजुरबुवाहरु भने चार भाइ हुनुहुन्थ्यो । पल्लो कुन्दलाका जेठा बुवा टेकबहादुर महत हुनुहुन्छ । हाम्रा हजुरबुवा माइला, मोहन भन्ने साइला र अने महत भन्ने निःसन्तान हुनुहुन्थ्यो रे,’ उनले भने । हजुरबुवाले दुईटी हजुरआमा भित्र्याएको उनले बताए ।

उति बेलाको गहना र कुन्दालेको घराना

तेहै्र बहिनी छोरी र बुहारीको शिरमा ठूला–ठूला सुनका शिरफुल, जन्तर, क्लिप, कण्ठ, ढुक्री मडावरी, हारी, कल्ली लगायतका गहना लगाएर रामरमितामा उनीहरु पुग्दा ‘उ, कुन्दलेका छोरीबुहारी आए’ भन्दै अरुले नियाल्थे ।

त्यो गहनाको फेशन २०४० को दशकसम्म निकै बढी थियो । धेरै पछिसम्म कुन्दलेका छोरी बुहारीहरु ती पुरानै गर गहनामा देखिन्थे ।

अभिताभ बच्चनको फेशनमा कुन्दलेका छोराहरु

त्यति बेलाका सुपरस्टार थिए भारतीय महानायक अमिताभ बच्चन र अर्का चर्चित नायक मिथुन चक्रवर्ती । उनीहरुले त्यति बेला लगाउने बेलीबटनको पाइन्ट भारततिर नोकरी गर्न गएकाहरु बाहेक गाउँमा जो पायो त्यसैले लगाउँदैनथे ।

त्यस बेला कुन्दलेका जेठा छोरा पृथ्वीबहादुर महत ३२ इन्चसम्मको  पोलिस्टरको बेलीबटन पाइन्ट लगाउँथे । र सेतो टे«निङको सर्ट लगाउँथे । २०४० को दशकसम्म स्थानीय युवाहरुमा चलेको फेशन भने साप्रा मै टिपिक्क परेको कालो जाँगे, जुत्ता–मोजा माथि घुँडासम्म लगाउने, टे«निङको सर्ट, टाँक खुल्ला पारेर भित्रको भेस्ट देखाउने फेशन थियो ।

त्यस्ता फेशनका युवाहरुलाई आकर्षित गर्न लामोे झुम्के बुलाकी, निधारमा सुनको टिकी, सुनले दाँत पनि बाँध्ने गर्दथे युवतीहरु । त्यस्तै शरीरमा टिपिक्क टाँसिएको रातो ब्लाउज, भखर भखर चलेको लुङ्गी, सेतो मखमलको पछ्यौरीमा सजिन्थे । त्यस्तै दुई चुल्ठे डोरीमा आफुलाई आधुनिक युवती ठान्थे । तर सहरतिर पढ्न गएका युवतीहरु तीज, दसैँ र तिहारमा घर आउँदा भने उनीहरु हिस्स पर्थे । रामरमितामा दुई चार जना युवती पाइन्ट, कमिज वा कुर्ता, सुरुवालमा देखिएपछि प्रायः सबै युवाको नजर त्यतै पर्दथ्यो । त्यतिबेला तरुनी–तन्नेरी भन्ने चलन थियो । टेप्रिकटवालाहरुसँग युवतीहरु भुतुक्कै हुन्थे । कहिले बुढीपोखरीको भिरकयरो त कहिले लाविन्नेको वनमा झाम्रेमा मस्त हुन्थे तरुनी–तन्नेरीहरु  ।

तर खानदानी परिवार भएकोले इज्जतको डरले कुन्दाले महतका छोरा–छोरीहरु भने त्यसरी हिड्दैनथे । त्यति बेलाका कुरा स्मरण गराउँदा  अहिले ६७ वर्षको उमेर पुगेका उनै मेघबहादुरका जेठा छोरा पृथ्वीबहादुर जोडले हाँसे ।

‘हो मैले २०२४ सालमा पहिलो पटक ५४३ मोडलको टेप्रिकोट किनेको थिएँ । २०२८ साल वैशाख ३ गते मेरो हजुरबुवा रणबहादुर महतको मृत्यु भयो । त्यसपछि मैले कुन्दाला जयपाल सुनारको छोरालाई बेचेको हुँ । फेरि पछि ५४३ मोडल कै अर्को टेप्रिकोट किनेको थिएँ,’ उनले भने ।

२०२६ देखि दुई वर्षसम्म हालको खस्थोक माध्यामिक विद्यालय र तत्कालीन अमरावती प्राविमा निःशुल्क पढाएको स्मरण गर्दै उनी भन्छन्, ‘मैले त्यति बेला निःशुल्क पढाउनुका साथै प्रधानाध्यापकको समेत जिम्मेवारी सम्हालेको थिएँ ।’

विगतमा पारिवारिक अवस्था सम्झिँदै उनले भने, ‘३९ जनाको परिवारमा एउटाले पकाएको पकायै, अर्कोले खाएको खायै गर्ने गरिन्थ्यो । कसले खायो, कसले खाएन, को आयो, को आएन भन्ने पत्तै पाईदैनथ्यो ।’

उनका पिता रणबहादुर पनि त्यसअघि  खस्थोक पञ्चायतका संस्थापक उपप्रधानपञ्च थिए । उनका छोरा मेघबहादुर भने राजनीतिभन्दा बढी कृषि, पशुपालन मै रमाउथे ।

यी परिवार पनि चर्चित र सम्भ्रान्त थिए

पञ्चायकालमा मुसिकोट अमराईमा मेघबहादुरभन्दा बढी चर्चित भलाद्मी  खस्थोकका जिम्मावाल रामबहादुर महत थिए । धेरै पटक प्रधानपञ्चसमेत भएका उनी त्यस भेगमा मात्र नभई जिल्ला कै चर्चित भलाद्मी थिए ।

वडाध्यक्ष लगायत जनप्रतिनिधिसम्मको भद्रभलाद्मीका रुपमा अमराईमा  देवबहादुर माझी र जिवलाल पोखरेल पनि कहलिएका हुन् ।

धन सम्पत्तीको हकमा जिम्मवाल रामबहादुर महत, कान्छा पोखरेल करिव करिव दाँजिनेखालका परिवार थिए । दलित समुदायमा जयपाल सुनार परिवार त्यस बेलाका सभ्रान्त परिवार थियो ।

त्यस्तै अमराईका कार्की परिवार, सालचौरे भनिने सेजवाल परिवार, कुन्दले बैदार परिवार पनि सम्पत्तिमा एक अर्कामा दाँजिने परिवार थिए । उता दलुङका ठकुरी परिपार पनि धन सम्पत्तिमा राम्रै थिए ।

अहिले जमना बदलिएको छ । प्रायः सबै समुदाय करिव हाराहारीमा आइसकेका छन् ।

सम्बन्धित् समाचार