गृहपृष्ठ खबर कोहलपुरमा अनिश्‍चितकालीन कर्फ्यु कहादेखि कहासम्म

कोहलपुरमा अनिश्‍चितकालीन कर्फ्यु कहादेखि कहासम्म

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र उपाध्यायका अनुसार दक्षिणतर्फ नेपालगन्ज–कोहलपुर सडक खण्डको पिपरी चोक, उत्तरमा नौबस्ता चोक, पूर्वमा रोहिणी खोला र पश्चिममा किरणखोलासम्म कर्फ्यु जारी गरिएको हो। कोहलपुरको त्रिभुवन उच्च माविनजिकै दुर्घटना भएपछि ट्रक जलाइएको थियो।

दुर्घटनापछि आक्रोशित विद्यार्थीको समूहले ट्रक जलाएका थिए।  आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर सडकमा कैयौँ गाडीमा तोडफोड गरेका छन्। तनाव बढेपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको छ।  प्रहरी र विद्यार्थीको झडपका क्रममा डिएसपीसहित २४ जना घाइते भएका छन्। तीनजनाको अवस्था गम्भीर छ।

ट्रकले दुइटै खुट्टा किचिएकी बालिकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बिएन्डबी अस्पताल ललितपुर लगेको छ।  त्रिभुवन माविदेखि सुरु भएको तनाव कोहलपुर बजार चोकसम्म नै पुगिसकेको छ। प्रहरीमाथि स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थीले ढुंगा हानेका छन्।

 

भीड तितरबितर पार्न प्रहरीले हवाई फायर गरेको छ। ठूलो भीड खन्निएपछि प्रहरी इलाका प्रहरी कार्यालय क्षेत्रमा सीमित भएको थियो।  झडपपछि सडक यातायात ठप्प छ। तनाव बढेपछि बिहानैदेखि कोहलपुर बजार बन्द गरिएको छ भने नेपालगन्जबाट प्रहरीको थप बल मगाइएको छ।

सम्बन्धित् समाचार