देशका ७ सय ५३ वटा स्थानीय सरकारमध्ये गुल्मीको रेसुङ्गा नगरपालिका कृषकलाई बजारिकरणको पुर्ण ग्यारेन्टी दिने पहिलो स्थानीय सरकार बनेको छ । नगर क्षेत्रभित्रका कृषकहरुका पशुपन्छीदेखि हरेक कृषि उपज नगरपालिका आफैँले खरिद गरेर बजारिकरणलाई सहज बनाइदिएको हो ।
कृषकले उब्जाएका जुनसुकै तरकारी, मसलाजन्य वस्तु, अन्न, फलफूलदेखि लिएर पशुपन्छीसम्म रेसुङ्गा नगरपालिकाले खरिद गर्ने र उपभोक्तालाई सुपथ मूल्यमा विक्री गर्ने भएपछि कृषकले बजारको समस्या झेल्नु परेको छैन भने व्यापारीहरुको ठगीबाटसमेत किसान र उपभोक्ताले राहत पाएका छन् । सदरमुकाम तम्घासमा सञ्चालित पशुपन्छी, कृषि उपज उपसंकलन केन्द्र तथा हाट–बजारमा आफ्ना कृषि उपज लगेर विक्री गरी कृषकले दैनिक आम्दानी लिन थालेका हुन् ।
उक्त हाट–बजारमा लोकल कुखरा, अण्डा र कोदो बढीमात्रामा खरिदबिक्री हुने गरेको छ । सानो टमाटर, चुक अमिलो, गुन्द्रुक, अचारदेखि लोपोन्मुख फापर, गहतको दाल, सिमी दाल, झिलिङ्गे (सिल्थुङ्ग) मासको दाल, भटमास, हरियो साग, सिमी लगायतका कृषि उपज कृषकले बेच्ने र उपभोक्ताले खरिद गर्छन् । जसबाट कृषकका हरेक उत्पादनले उचित बजार पाएको छ भने बिचौलियाबाट कृषक ठगिने क्रम अन्त्य भएको छ ।







