कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. १० ले वडाका स्थानीयलाई लालपुर्जा वितरण गरेको छ । बर्षौदेखि जोतभोग गर्दै आएका तर लालपुर्जा नभएका स्थानीयहरुको समस्यालाई मध्यनजर गर्दै वडाले लालपुर्जा वितरण गरेको हो । वडा नं. १० का सानोठेकी, ठुलोठेकी, दानापुर र करेलिया गरी १ सय २७ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको वडाध्यक्ष राम विहारी चौधरीले बताए । कार्यक्रमको उद्घाटन नगर प्रमुख मंगल प्रसाद थारुले गरेका थिए । लालपुर्जा पाएसंगै स्थानीयहरु खुसी भएका छन् । उनीहरुले अब ढुक्क भई गरेर खान पाईने भन्दै वडालाई धन्यवाद व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख थारुले नगरपालिका हरेक नगरवासीहरुको पक्षमा रहेको बताउँदै सबै घरपरिवारलाई लालपुर्जा प्रदान गर्ने बताए ।
त्यस्तै वडाअध्यक्ष चौधरीले केही घरपरिवारलाई लालपुर्जा वितरण गरिएको र बाँकी रहेका सबैलाई छिटै वितरण गरिने बताए । उनले वडाका सबै नागरिकहरुलाई मिहनेत गरेर जिविकोपार्जन गर्ने वातावरण सिर्जना गर्ने वडाकार्यालयको रहेको बताए । वडाअध्यक्ष चौधरीको अध्यक्षता, वडा सदस्य दिलकुमारी चौधरी लगायतको आतिथ्यता, वडा सदस्य राम नक्षत्र चौधरीको स्वागत तथा वडा सचिव अशोक चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।