उपचारमा आएका बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले चिकित्सकमाथि हातपात गरेका छन्। युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल रानीगाउँ (युसिएमएस) भैरहवामा मस्तिस्कघातको उपचार भइरहेकी बिरामी नवलपरासी बर्दघाटकी यमकुमारी पुनको आज मृत्यु भएको थियो। मृतकका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै न्युरो सर्जरीको कक्षमै प्रवेश गरी उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका अस्पताल प्रशासनले जनाएको छ। उपचार कक्षमै चिकित्सकमाथि भौतिक आक्रमण गरेको भन्दै आज दिनभरि युसिएमएसमा ओपिडी सेवा ठप्प भयो। चिकित्सकहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म आकस्मिक सेवाबाहेक अन्य सेवामा संलग्न नहुने बताएका छन्।
अस्पतालका जनसम्पर्क अधिकारी सुशील गुरुङका अनुसार मस्तिस्कघात भएर आएकी यमकुमारीको उपचारका क्रममा मृत्यु भएको हो। गुरुङले बिरामीको आज बिहानै मृत्यु भएपछि आफन्तले एक्कासि उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका बताए। मृतकका आफन्तको कुटाइबाट डा अर्चन घिमिरे घाइते भएका अस्पतालले जनाएको छ। आज दिउँसो अबेरसम्म अस्पतालमा प्रदर्शन गरेका आफन्तले शव लगेर सदगत गरिसकेका छन्। तर चिकित्सक भने काममा फर्केका छैनन्। उक्त विषयमा जिल्लास्थित सुरक्षा प्रमुखसँग पनि छलफल भएको अस्पतालका प्रशासकीय प्रमुख तेजकुमार केसीले बताए।