केही गरौँ लाग्ने तर गर्नका लागि सानोतिनो लगानीले नपुग्ने भएपछि कैलालीको टीकापुर नगरपालिका ६ आम्बासाका महिलाहरूले पटक पटक सल्लाह गरे, कि के कसरी जाँदा लगानी जुटाउन सकिन्छ ।
बिभिन्न पेशा, व्यवसायलाई विकल्प बनाउँदै छलफल गर्दै जाँदा उनीहरू केराको रेसाबाट नेपाली कागजलगायतका बिभिन्न सामग्री बनाउन सहमत भए र सहयोगका लागि टीकापुर नगरपालिकामा धाउन थाले ।
केही समयको प्रयास, छलफल र प्रक्रियापछि नगरपालिकाले उद्योग खोल्नका लागि प्राविधिक तथा तालिमको व्यवस्थापन गरिदिने भयो ।
जम्मा गरिएको केराको थामलाई पकाउँदै गरेको अवलोकन गर्दै टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावल ।
२०७६ जेठ १० देखि २५ गतेसम्म द्वन्द्व पीडित एकता महिला सञ्जालमा आवद्ध भएका ४२ भन्दा धेरै महिलाका लागि केराको रेसाबाट नेपाली कागज बनाउने तालिमको आयोजना गरियो । तालिमपछि टीकापुर बजारबाट करिब ६ किलोमिटर दक्षिण पश्चिममा पर्ने आम्बासा भन्ने स्थानमा कागज उद्योगको स्थापना गरिएको छ ।
द्वन्द्व प्रभावित महिलाहरूले न्याय पाउन नसकेको भन्दै मुलुकभरमा असन्तुष्टि छ । न्यायमा असन्तुष्टि भए पनि कैलालीको टीकापुरका द्वन्द्व प्रभावित महिलाहरू केराको रेसाबाट खाम, कागज बनाएर आम्दानी गर्ने सोँचका साथ एक जुट भएका छन् ।
हिजोआज उद्योगमा पुग्नेवित्तिकै आँगनमा केही नेपाली कागज सुकाइएको, केराका थामलाई टुक्राटुक्रा बनाएर आगोमाथि पकाउँदै गरेको र केही महिलाहरूले बनेका नेपाली कागज पट्याउँदै गरेको देख्न सकिन्छ ।
उद्योगबाट तयार पारिएका नेपाली कागज सुकाईँदै ।
द्वन्द्व पीडित एकता महिला सञ्जालका सदस्य दुर्गाकुमारी चौधरीका अनुसार गाउँघरमा ढलेका केराका थामलाई सङ्कलन गरी उद्योगमा प्रयोग गर्ने गरिएको छ । केराको थाम ल्याएर टुक्राटुक्रा बनाएपछि ड्रममा राखेर पकाउनुपर्ने र केमिकलको प्रयोग गरी पकाएपछि बिलिचिङको प्रयोग गर्नुपर्ने दुर्गाकुमारीको भनाइ छ ।
द्वन्द्व पीडित एकता महिला सञ्जालका सदस्य दुर्गाकुमारी चौधरी ।
गाउँघरमा जथाभावी ढलेको र फालेको अवस्थामा केराका थामहरू देख्न सकिन्छ । तर आम्बासाका महिलाहरूले फोहोरको रूपमा फालिएका थामलाई मोहोर बनाउन सफल भएका छन् । केमिकल राखेर धोएर तयार पारिएको सामाग्रीलाई बिटर मेसिनमा राखेर मसिनो बनाउनुपर्ने र यसरी मसिनो बनाइएको सामग्रीलाई जालीमा राखेर सुकाएपछि नेपाली कागजको रूप लिन्छ ।
कागज बनाउने उद्योगका लागि भौतिक संरचना भने पर्याप्त छैन । कागज बनाउने मेसिनका लागि अस्थायी प्लाष्टिकको घर बनाइएको छ भने खुला आकासमा कागज सुकाउनु पर्ने र केराका थाम पकाउनुपर्ने बाध्यता उनीहरूलाई छ ।
द्वन्द्व पीडित एकता महिला सञ्जालका अध्यक्ष कृष्णादेवी चौधरीले नेपाली कागज र जापानी कागजका साथै खाम पनि आफूहरूले बनाएको बताउनुभयो ।
द्वन्द्व पीडित एकता महिला सञ्जालका अध्यक्ष कृष्णादेवी चौधरी ।
‘स्थापना भएको हालसम्ममा उद्योगले तीन हजारभन्दा धेरै नेपाली तथा जापानी कागज र ३ सयभन्दा धेरै खाम तयार पारेका छौँ ।’ अध्यक्ष कृष्णादेवीले भन्नुभयो,‘ हामीले बजारका लागि पनि पहल गरेका छौँ तर पर्याप्त बजार नपाउँदा उत्पादन भएको कागज कहाँ लगेर बेच्ने भन्ने चिन्ता लागेको छ ।’
उद्योगले तयार पारेको कागज र खामको बजारका लागि सञ्जालका सदस्यहरू नगरपालिकाका सबै वडा कार्यालयमा पुगेर छलफल गर्ने गरेका छन् ।
उद्योगले तयार पारेको तीन सयभन्दा धेरै खाम बिक्रीका लागि हालै काठमाडौँ पठाइएको छ । उद्योगमा पुगेका टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल समक्ष द्वन्द्व पीडित एकता महिला सञ्जालका अध्यक्ष कृष्णादेवी चौधरीले आफूहरूलाई प्रविधि, भौतिक पूर्वाधार र बजारीकरणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
नगर प्रमुख रावललाई उद्योगबाट बनेका कागज देखाउँदै सञ्जालका अध्यक्ष कृष्णादेवी तथा सदस्य दुर्गाकुमारी ।
बेलाबेलामा मेयर यसरी आफ्नो उद्योगमा आउँदा अझैँ केही गर्ने हौसला जाग्ने गरेको उहाँको भनाइ थियो । जवाफमा मेयर रावलले केही दिनभित्रमा उद्योगका कागज र मेसिन राख्नका लागि घर निर्माणको काम सुरु हुने जानकारी दिनुभयो ।
कागज काट्नका लागि मेसिनलगायत भौतिक संरचनाका लागि कार्यपालिका बैठकले १५ लाख सहयोग गर्ने निर्णय गरेको रावलले बताउनुभयो । द्वन्द्व प्रभावित महिलाहरूले उत्पादन गरेका नेपाली कागजको प्रयोगका लागि नगरपालिकाभित्रका सबै सरकारी कार्यालयलाई आग्रह गरिने पनि मेयर रावलले प्रतिबद्धता जनाउनुभयो ।
उद्योग स्थापनका लागि नगरपालिकाले ५ लाख र सञ्जालले ७५ हजार रुपैयाँ लगानी गरेका छन् । सञ्जालमा सुरुमा ५० जना द्वन्द्व प्रभावित महिला सहभागी भए पनि अहिले ४२ जना महिलाले मात्रै निरन्तरता दिएका छन् ।