गृहपृष्ठ Featured विपद्का बेला फजुल खर्च कटौती गरी सहयोग गर्न उपाध्यायको अपिल

विपद्का बेला फजुल खर्च कटौती गरी सहयोग गर्न उपाध्यायको अपिल

कपिलवस्तु । महिला नेतृ तथा समाजसेवी मिथुला उपाध्यायले राष्ट्रिय विपद्का बेला सबै नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।

उपाध्यायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ५५ हजार ५ सय ५५ रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तान्तरण गर्नुभएको हो।
चेक हस्तान्तरण गर्दै उहाँले विपद् र राष्ट्रिय शोकको समयमा महिलाहरूले समेत सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोगमा जुट्नुपर्ने बताउनुभयो। विपद्मा परेको बेला गरिने सानो सहयोगले पनि पीडित परिवारलाई ठूलो राहत पुग्ने उहाँको भनाइ थियो।

उपाध्यायले आगामी चाडपर्वमा तडकभडक र फजुल खर्च नगरी केही रकम बचत गरेर विपद् प्रभावित नागरिकको सहयोगमा लगाउन सबैलाई आग्रह गर्नुभयो।

“हामी गृहिणीहरूले पनि आफ्नो घरखर्चबाट केही कटौती गरेर सम्भव सहयोग गर्न सके त्यसले राष्ट्रका लागि ठूलो योगदान पुग्छ,” उहाँले भन्नुभयो, “आउँदा चाडपर्वमा तडकभडक र फजुल खर्च नगरौँ, केही रकम बचत गरौँ र देशमा परेको विपद्मा सहयोग गरौँ।”

उहाँले विपद्को समयमा सरकारको प्रयाससँगै नागरिकस्तरबाट हुने सहयोग र सहकार्य पनि महत्वपूर्ण हुने बताउनुभयो।

सम्बन्धित् समाचार