कविता : मसाल
कुनै वासुरीवादक ले थिचेर
निसास्सिएर निस्किएको वेसुरा धून जस्तो
उकुसमुकुस छ जिन्दगी
नास्पातीका बोटहरू
सपनाका चल्ला फुलाएर
मैदान तिर लडिरहेछन्
अपरिचित बाटोमा पाईला राख्दै
अपरिभाषित जिन्दगीको परिभाषा लेख्दै
रक्तिम साँझहरूमा बास माग्न आईपुगेका छन्
स्वास फेर्दा पनि हुरी चले जस्तो
निधारका पसिना पनि साउने झरी जस्ता
पदचापहरू बजिरहेछन्
पहरामा दर्शिनढुंगा माथी वज्रिएको घनको आवाज जस्तो
मुत्युलाई हत्केलामा राखेर
भुरूङ जसरी नचाउंदै हिडिरहेछन्
आँखामा त्रिसुल जस्तो तिखो नजर छ
परिवर्तनको अनन्त प्यास छ
सोध्दैछन् आश्रम जान हिडेका बा आमा संग
देश जाने बाटो कता हो ?
ए प्रिय शासक
वीरहरू तिम्रो साम्राज्यमा आउने भन्छन्
तिम्रो सत्ताको पर्खाललाई लात्ती हान्ने भन्छन्
गुनगुन कुरा गर्दैछन् , शुली , कारागार . गिरफ्तार . वन्दी यस्तै यस्तै
सदिऔ देखि हामीले ईश्वर मानेर पुजेका
हे शासक ! वीरहरू तिम्रै दरवार तिर आउँदैछन्
त्रिसुली भन्दा उम्लिएको छ तिनीहरूको रगत
खोज्दैछन् तिमीले सुदूर गाउँमा छाडेका पदचापहरू
तीनै निमुखा आवाजहरू
बीच बाटोमै छुटेका पाईलाहरू
मुर्झाएका क्रान्तिका रक्तकणहरू
विस्तारै जुर्मुराउँदैछन्
रक्तिम साँझहरूमा
मसाल बालेर !









