गृहपृष्ठ खबर कपिलवस्तु तथा रुपन्देहीमा स्वाब संकलन गरेका एक चिकित्सकमा कोरोना पोजिटिभ

कपिलवस्तु तथा रुपन्देहीमा स्वाब संकलन गरेका एक चिकित्सकमा कोरोना पोजिटिभ

प्रकाशित मिति:

काठमाडौँ — इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाबाट कपिलवस्तु तथा रुपन्देहीमा स्वाब संकलनका लागि गएर फर्किएका एक जना चिकित्सकमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र श्रेष्ठका अनुसार रुपन्देही र कपिलवस्तुमा स्वाब संकलन गर्न गएका विभागमा कार्यरत उनमा संक्रमण रहेको पाइएपछि उनको सम्पर्कमा आएका अन्य ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

‘एकजना हाम्रो स्टाफमा देखिएको हो । उहाँ विभागबाट इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखामा काजमा खटिनुभएको थियो ।’ उनले स्वाब संकलन गर्ने तथा फिल्डमा खटिने चिकित्सकहरु सबैभन्दा बढी जोखिममा रहेको बताउँदै उनको अवस्था भने सामान्य रहेको जानकारी दिए ।

‘अहिलेलाई उहाँसँगै काठमाडौ फर्किएको टोलीलाई नै क्वारेन्टाइनमा राखेका छौं,’ उनले भने, ‘काठमाडौं आएपछि उहाँ को कसको सम्पर्कमा आउनुभयो त्यसको खोजि हुँदैछ । सायद मै पनि एक्सपोज्ड भएको थिएँ कि ?’

सोमबार थप २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसमध्ये ५ जना संक्रमित काठमाडौं उपत्यकामा नै फेला परेका थिए । ती मध्ये एक ललितपुर निवासी चिकित्सक भएको स्रोतले दाबी गरेको छ ।

सम्बन्धित् समाचार