प्रदेश ५ को प्रदेशसभामा विपक्षी दलहरुले लकडाउन गरेको दुई महिनासम्म सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
अरु प्रदेशमा भन्दा पछि कोरोना संक्रमण भित्रिएकाले पर्याप्त तयारी गर्नुपर्ने समय हुँदाहुँदै के गरेर बसेको भन्दै विपक्षी सांसदहरुले सरकारमाथि प्रश्न उठाए ।
शुक्रबारदेखि शुरु प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो वैठकमा बोल्ने विपक्षी सांसदले मुख्यमन्त्री शंकर पोखरेलको ध्यान प्रदेशमा भन्दा काठमाडौंको बालुवाटार (प्रधानमन्त्री निवास) मा धेरै हुँदा कोरोना संक्रमण नियन्त्रण र उपचारमा सरकार गम्भीर र संवेदनशील नदेखिएको आरोप समेत लगाएका छन् ।
राहत वितरणमा भेदभाव भएको र पारदर्शिता नभएको गुनासो आएको भन्दै उनीहरूले पारदर्शी बनाउन माग गरे ।
‘मुख्यमन्त्रीमा गम्भीरता देखिएन’
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका कार्यवाहक नेता वीरेन्द्रकुमार कनौडियाले सरकारले दुई महिनासम्म लकडाउन लम्ब्याउने भन्दा अरु केही काम गर्न नसकेको टिप्पणी गरे । आफूले लिखित र फोनमार्फत मुख्यमन्त्रीलाई कोरोना नियन्त्रण र उपचारका लागि पूर्वाधारमा ध्यान दिन पटकपटक सुझाव दिए पनि गम्भीरतापूर्वक नलिएको उनले गुनासो गरे ।
‘यत्रो समय बित्यो न पर्याप्त क्वारेन्टाइन छन् न आइसोलेसन बेड नै छन्’ कनौडियाले भने ।