गृहपृष्ठ जीवन शैली एक कुशल चिकित्सक पनि थिए गौतम बुद्ध

एक कुशल चिकित्सक पनि थिए गौतम बुद्ध

कोभिड–१९ भाइरस संक्रमण रोकथाम गर्ने भ्याक्सिन बनिनसकेको अवस्थामा पनि चिकित्सा विज्ञानले यस सम्बन्धमा धेरै कुरा जानिसकेको छ । के–कसो गर्दा संक्रमण हुन्न भनेर दिएको सन्देशलाई भने धार्मिक सम्प्रदायहरूले लत्याउने कार्य गरिरहेको पाइन्छ ।

कोरोनाभाइरसको संक्रमणबाट बच्न प्रकृतिलाई बुझी भीडभाडमा नजान र अपनाउनुपर्ने अन्य सुरक्षाका उपायहरू पालना गर्न व्यापक मात्रामा सूचना प्रवाह गरिएको पाइन्छ । यसको ठीक उल्टो विभिन्न धार्मिक सम्प्रदायले भने कोरोनाको संक्रमणबाट बचाउन भन्दै भीडभाड जम्मा पारेर तिनका धार्मिक क्रियाकलापहरू सम्पन्न गरिरहेका छन् ।धर्मलाई कतिपयले अवैज्ञानिक र अन्धविश्वासका रूपमा पनि बुझ्ने गरेका छन् र कोरोनाका सन्दर्भमा त्यो बुझाइलाई अझ मलजल हुन पुगेको छ । यसलाई आ–आफ्ना धर्ममा पनि राम्रा पक्षहरू छन् भनेर सन्देश दिने र व्यवहारमा लागू गर्ने अवसर गुमाएको अवस्था भन्न सकिन्छ ।

गौमूत्रमा कोरोनाको औषधि देख्नु र देखाउन खोज्नुमा वैज्ञानिकता भन्दा धार्मिक प्रोपोगण्डा मात्रै हो । भाइरसको संक्रमण तथा मृत्युदर भारतमा आजभोलि बढ्नुको कारण यही लापरबाही पनि हुनसक्छ ।

विश्वभर महामारीका रूपमा फैलिरहेको यो भाइरस इसाइ धर्म मान्नेलाई लाग्दैन भन्ने भ्रम नेपालमा फैलाउने कोशिश पनि गरेको पाइयो । यस्तै भ्रम फैलाएको आरोपमा केही समयअघि पोखराबाट एक धर्मगुरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

भारतमा शुरूका दिनमा गौमूत्र सेवन गरे कोरोनाभाइरस संक्रमण हुँदैन भनेर खूबै प्रचारप्रसार गरिएको थियो । गाईलाई पवित्र जनावर मान्नु हिन्दू धर्मावलम्बीको आस्थाको कुरा हो तर गौमूत्रमा कोरोनाको औषधि देख्नु र देखाउन खोज्नुमा वैज्ञानिकता भन्दा धार्मिक प्रोपोगण्डा मात्रै हो । भाइरसको संक्रमण तथा मृत्युदर भारतमा आजभोलि बढ्नुको कारण यही लापरबाही पनि हुनसक्छ ।

कोरोनालाई दैवीकरण गरेको पनि पाइयो तर यसलाई स्त्री वा पुरुष के मान्ने भन्ने प्रश्नमा मतैक्य हुनसकेको छैन । आखिरमा कोरोनादेवी र कोरोनेश्वर के भन्ने अलमल भएको छ । साथै संक्रमण हुनबाट बचाउन प्रार्थना, याचना तथा पूजाअर्चना गर्नेहरू बढेका छन् । कोरोनाको भावभक्ति गर्दै रचना गरिएका भजन गीतहरू गाउने तथा त्यसमाथि नाच्नेको पनि कमि छैन ।

कोरोनादेवी रिसाएकाले यो प्रकोप फैलिएको भन्दै नौ वटा लड्डू, नौ वटा ल्वाङ लगायत पूजा सामग्रीसहित पूजा गर्नाले प्रकोप हट्ने सन्देश भारतको गोपालगञ्ज तथा सिवानलगायतका जिल्लाहरूमा भाइरल बनेको थियो ।

कोरोनादेवी रिसाएकाले यो प्रकोप फैलिएको भन्दै नौ वटा लड्डू, नौ वटा ल्वाङ लगायत पूजा सामग्रीसहित पूजा गर्नाले प्रकोप हट्ने सन्देश भारतको गोपालगञ्ज तथा सिवानलगायतका जिल्लाहरूमा भाइरल बनेको थियो । सोही अनुसार पूजा गर्न महिलाहरू नदी किनारमा भीड लागेका थिए । कोरोनाभाइरसलाई विज्ञानको प्रयोगशालामा लगी उतारेको फोटोग्राफी र धतुराको आकारमा केही समानता छ । झापामा केही महिलाले धतुरोलाई कोरोना मानेर पूजा गर्नुका साथै नदीमा विसर्जन गर्न लगेका छन् ।

अरूभन्दा वैज्ञानिक भनिएको बौद्ध धर्मका अभ्यासीहरू पनि कोरोनाको महामारीसँगै अन्धविश्वासी बनेका छन् । शुरूका दिनहरूमा बौद्धमार्गीहरूले पनि समूहमा बसी विभिन्न सूत्र, मन्त्र र धारणी पाठ गरेका थिए । सामाजिक दूरी कायम गर्नुपर्ने कुरामा बढी जोड दिएपछि विहार तथा गुम्बाहरूमा भीड त भएन तर सामाजिक दूरी कायम गरेरै भए पनि आजभोलि यस्ता पाठहरूलाई निरन्तरता दिंदै आइरहेको पाइन्छ ।

पाठ गर्दैमा रोगव्याधि तथा अन्य प्रकारका प्रकोपहरू साम्य हुने कुरा न वैज्ञानिक छन् न त बौद्ध धर्मदर्शन अनुुकूल नै । कतिपय मानिस पाठले मैत्री भाव सिर्जना गर्ने र यसले अरूको मनमस्तिष्क तथा वरिपरिको वातावरणमा सकारात्मक प्रभाव पार्ने स्वाभाविक र मनोविज्ञान अनुुकूलका कुरा गरेर अलौकीकरण गर्ने प्रयास गरिरहेका छन्। वास्तविकतामा भन्दा लोकरिझ्याइँमा फाइदा देखेर बौद्ध धर्मावलम्बीहरूले पनि अरूको सिको गर्ने गरेको पाइन्छ । कोरोनाका सन्दर्भमा पनि यही कुरा लागू भएको छ ।

‘विनयपिटक’ को अध्ययनबाट थाहा हुन्छ, गौतम बुद्ध स्वयं पनि कुशल चिकित्सक थिए । यही भएर उनलाई भैषज्य गुरु पनि भनिन्छ । कुन रोग लाग्दा के के कुरा कति मात्रा मिलाएर औषधि बनाउने भन्ने बारेमा केही उपदेश सो ग्रन्थमा संकलित छन् । रोगी भिक्षुको उपचार गर्ने कार्यमा बुद्ध आफैं सरिक भएका घटनाहरू पनि पाइन्छन् ।

भीडभाड हुने धार्मिक स्थलहरूमा प्रवेश बन्द गर्ने लगायतका काम गरेर हिन्दू, बौद्ध, इस्लाम, इसाइ आदिले उदाहरणीय काम गरेको पक्ष भने सराहनीय छ ।  

उनी आफैंलाई रोग लाग्दा जीवक नामका नामी वैद्यसँग उपचार गराउँथे । सबै समस्याको समाधान एउटै उपायबाट नहुने भएकाले विभिन्न उपायको अवलम्बन गर्नमा बुद्ध जोड दिन्थे जसलाई उपायकौशल्य भनिन्छ । सूत्र, मन्त्र वा धारणी पाठ गर्दैमा सबै प्रकारका रोगव्याधि तथा प्राकृतिक प्रकोपहरू साम्य हुने भए बुद्धले चिन्तन, मनन तथा ध्यान अभ्यासलाई भन्दा मन्त्र जपमा नै जोड दिन्थे होला तर उपचारको लागि यसरी कुनै मन्त्र पाठ सुझाएका छैनन् ।

आफ्नो धर्मग्रन्थ ‘कुरान’ मा ‘कयामत’ को वर्णन भएको र यसपछि मुक्ति मिल्ने भन्दै कोरोनाभाइरस फैलाउन उद्यत रहेको एक धार्मिक समूह, जमातीले केही समयअघि नेपाल तथा भारतमा भयावह अवस्था सिर्जना गरेको थियो ।

यसका लागि उनीहरू आपसमा जूठो खाने, भीडभाड गर्ने र लापरबाह ढंगले हिंडडुल गर्ने गरेका थिए ।  इस्लाम धर्मकै अन्य सम्प्रदायले भने त्यस्तो क्रियाकलापले ‘इस्लाम’ धर्मकै बद्नाम गरेको भनी आपत्ति जनाउनुका साथै दुःख व्यक्त गरेको यहाँ स्मरणीय छ । भीडभाड हुने धार्मिक स्थलहरूमा प्रवेश बन्द गर्ने लगायतका काम गरेर हिन्दू, बौद्ध, इस्लाम, इसाइ आदिले उदाहरणीय काम गरेको पक्ष भने सराहनीय छ ।-  वसन्त महर्जन

सम्बन्धित् समाचार