गृहपृष्ठ खबर प्रदेश पाँचका ३ मृतक,जसले गाउँ पुगेर पनि आँगन टेक्न पाएनन्

प्रदेश पाँचका ३ मृतक,जसले गाउँ पुगेर पनि आँगन टेक्न पाएनन्

प्रकाशित मिति:

प्रदेश ५ मा कोरोना संक्रमणबाट अहिलेसम्म चारजनाको ज्यान गएको छ। ती चारैजनामा मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो। कोरोनाबाट प्रदेशका बाँके, पाल्पा, अर्घाखाँची र गुल्मीका एक/एकजनाको ज्यान गएको छ। मृत्यु  हुनेमध्ये गुल्मीका एक शिक्षकबाहेक अन्य तीनजना भारतबाट आएका हुन्। कोरोनाबाट सुरक्षित रहने आसमा देश फर्केका तीनजनाले आफ्नो घरको आँगन भने टेक्न पाएनन्।

तीनजनामध्येका एक हुन अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ का कृष्ण। गएको दसैंमा घर आएका उनी कोजाग्रत पूर्णिमालगत्तै भारत फर्किएका थिए। वैशाखमा १५ दिनको छुट्टी मिलाएर घर फर्कने योजना लकडाउनले सफल भएन। गुजरातको अहमदाबादस्थित एक होटलमा काम गर्ने उनी कोरोना जोखिम बढदै जाँदा बेरोजगार भए। उनलाई केही दिन साहुले पाले, केही दिन उनी आफूसँग भएको पैसाले पालिए।

बेखर्ची र बेरोजगार भएपछि कयाैं दिन अरुले दिएको आधा पेट खाएर बसे। सडकको बास भयो। भारतमा लकडाउन केही खुकुलो भएपछि अलपत्र परेका नेपाली मिलेर गाडी रिजर्भ गरे। त्यसमा उनी पनि थिए। जेठ ६ गते अहमदाबादबाट हिँडनुअघि उनले पत्नीलाई फोन गरे। ‘हामी यहाँबाट गाडी रिजर्भ गरेर हिँड्दैछौं। चिन्ता नलिनु, चार दिनमा घरै आइपुग्छु,’ पतिसँगको फोनवार्ता उद्धृत गर्दै पत्नी सीताले भनिन्, ‘उहाँले फोनमा त्यसो भनेपछि मेरो मन हल्का भयो। उहाँले घर आउँदैछु भन्दा मलाई संसारै जिते जस्तो भयो।’ कृष्णकी ७ वर्षकी छोरीले त भेटेका सबैसंग बाबाले चकलेट र जामा ल्याइदिनुहुन्छ भनेर सुनाउँदै हिँडिन्।

‘भोलि बाह्रबजेसम्म घर आइपुग्छु, चिन्ता नलिनु’ भनेर अन्तिमपटक जेठ १० गते बिहान पत्नीलाई फोन गरेका कृष्ण त्यसै दिन दिउँसो प्रवासमै ढले। बिहानसम्म सामान्य रहेका कृष्णले दिउँसो एकाएक आफूलाई औडाहा भएको साथीहरूलाई बताएका थिए। तारन्तार बन्ता भएपछि उनी गल्दै गए। भारतीय बजार बढौनी नजिकै आइपुग्दा बसभित्रै ढले उनी।

जुन दिन कृष्णले घर आइपुग्छु भनेर पत्नीलाई भनेका थिए, त्यसै दिन उनी जन्मभूमि त फर्किए तर शव बाहनमा। त्यो पनि प्लास्टिकमा बेरिएर। पतिलाई टाढैबाट हेर्न क्वारेन्टिन जाने योजना बनाएकी  सीतालाई मृत्युको खबर सुनाइयो।  २६ वर्षमा हिँड्दै गरेकी सीतालाई त्यो खबर सुनेपछि आफूले टेकेको धर्ती फाटेझैं भयो। उनले भनिन्, ‘छोरीले मेरो बाबा किन आउनु हुन्न आमा भनेर सोध्छिन्। भगवान्कहाँ जानु भयो भनेर सम्झाउँछु। हामी पनि त्यहीं जाम न भन्छिन्। म अवाक छु, के भनेर सम्झाऊँ अब।’

‘छोरीले मेरो बाबा किन आउनु हुन्न आमा भनेर सोध्छिन्। भगवान्कहाँ जानु भयो भनेर सम्झाउँछु। हामी पनि त्यहीं जाम न भन्छिन्। म अवाक छु, के भनेर सम्झाऊँ अब।’

कृष्ण कक्षा ८ पढ्दापढ्दै १८ वर्षअघि त्यहाँ गएका थिए। उनकै कमाइले परिवारको गुजारा चल्थ्यो। पखेरो बारीले ६ महिना पनि खान नपुग्ने भएकाले परिवार पाल्नकै लागि उनी विदेसिएका थिए।  ‘हामी जस्ता नपढेकालाई यहाँ जागिर पनि दिन्नन्। तलब पनि राम्रो हुन्न भन्नुहुन्थ्यो। नेपालमै बसेको भए त यति सानैमा यी छोराछोरी टुहुरा हुन्थेनन् होला,’ सीताले मनको बह पोखिन्।

घर फर्कंर्दै गर्दा सीमापारि नै मृत्यु भएका कृष्णको शव कपिलबस्तुको कृष्णनगर नाकामा ल्याएपछि स्वाब झिकी परीक्षणका लागि पठाइयो। मृत्यु भएको तीन दिनपछि रिपोर्ट पोजेटिभ आयो।

कृष्णमा कोरोना संक्रमण पुष्टि भएपछि ६० वर्षीय आमाले अन्तिम पटक ३५ वर्षका छोराको अनुहार सुम्सुम्याउन पाइनन्।

कोरोनाबाट जोगिन भारतबाट फर्केका पाल्पाका रामबहादुरले पनि घरको आँगन टेक्न पाएनन्।  पाल्पा पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षका रामबहादुरको यही जेठ २० गते मृत्यु भयो। भारतको मुम्बईबाट फर्केका उनमा कुनै दीर्घ रोग थिएन।

जेठ १८ गते बिहानै रुपन्देहीको बेलहिया नाका आइपुगेका उनी अघिल्लो दिनदेखि भोकै थिए। १८ गते साँझ गाउँपालिकाले पठाइदिएको बस बेलहिया पुग्यो। बसले लिएर गएपछि उनीसमेतलाई गाउँकै क्वारेन्टिनमा राखियो। सोही दिन राति उनमा ज्वरो, खोकी र स्वासप्रस्वासको समस्या देखियो। उनलाई १९ गते बिहानै तानसेनस्थित  मिसन असपताल लगियो। २० गते दिउँसो उनको मृत्यु भयो। मृत्युपछि गरिएको पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखियो। भारतबाट फर्किएर आफ्नै गाउँ पुगेर पनि उनले घरको आँगन टेक्न पाएनन्। उनको मृत्युको तीन दिनपछि कोरोना भएको रिर्पोट सार्वजनिक गरिएको थियो। बेलहिया नाकामै कोरोना जाँच भएको भए उनले उपचार पाउने थिए कि ?

रामबहादुरको मृत्युसगै एउटा निम्न वर्गीय परिवारको गुजाराको बाटो पनि थुनिएको छ। मुम्बईमा गाउँकै चारजनासँग मिलेर उनले खाजा घर चलाएका थिए। त्यसैको आम्दानीबाट पत्नी, एक छोरा, बुहारी  र दुई छोरीसहितको  परिवार धानिएको थियो। उनको सम्पत्ति एक घर र एक हल पाखोबारी मात्र छ।  ‘बुबाकै कमाइले घर चलेको थियो। बहिनीहरु १० र ७ कक्षामा पढ्छन्। उनीहरुको भविष्य अब कसरी बनाउने होला’, रामबहादुरका छोरा नेत्रले भने।

त्यस्तै कोरोना छल्न भने जन्मभूमि फर्किएका बाँके नरैनापुरका २५ वर्षका युवकले पनि घरको आँगन टेक्न पाएनन्। भारतबाट फर्केर नरैनापुरकै क्वरेन्टिनमा बसेका उनको एक साताअघि उपचार नपाएरै मृत्यु भएको थियो। मृत्युपछि कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उनका बुबाले परैबाट छोराको शवलाई बिदाइ गरे। ‘कमाउन गएको छोरो फर्केला र बुढेसकालको सहारा बन्ला भनेको कोरोनाले खायोे। न जिउँदो छँदा घर आउन दिए, न मरेपछि हाम्रो नियम अनुसार अन्तिम संस्कार गर्न पायांै’, मृतकका बुबाले फोनबाटै  पीडा पोखे।

यसैगरी कर्णाली प्रदेशेमा पर्ने सुर्खेतको पञ्चपुरी–१, का २० वर्षीय युवक भारतमा रोजगारी गुमेपछि यही जेठ पहिलो साता स्वदेश फर्किए। हजार माइल यात्रा गरेर आएका उनी कोरोनाको जोखिमबाट बच्न गाउँकै क्वारेन्टिनमा बसे। १५ दिन क्वारेन्टिनमा बसेपछि परिवारसँग खुसीसाथ बस्ने उनको चाहना अधुरै रह्यो। गाउँमा आएर पनि घर पुग्न नपाईकन उनको मृत्यु भयो। ती युवकको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पृष्टि भयो।

ती युवक जस्तै भारतबाट फर्किएका चिंगाढ गाउँपालिका–५ का एक युवकको पनि प्रदेश अस्पतालमा मृत्यु भयो। केही घण्टाको दूरीमा रहेको घरसम्म उनी पुग्न सकेनन्। तर उनको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ आयो। कोरोनबाट जोगिन भारतबाट घर फर्किएका उनले मृत्युलाई जित्न सकेनन्। उनी गुजरातबाट जेठ दोस्रो साता स्वदेश फर्किएका थिए। घर पुग्न नपाउँदै बिरामी भएपछि उनलाई प्रदेश अस्पताल कालागाउँ लगियो। उनको उपचारकै क्रममा जेठ १२ गते राति मृत्यु भएको कर्णाली प्रदेश अस्पतालले जनाएको थियो।

यी दुईजस्तै भारतबाट लामो दूरी पार गरेर गाउँ आएका कर्णालीका अन्य तीनजना पनि घर पुग्न पाएनन्। घरनजिकै उनीहरूको मृत्यु भयो। यसरी ज्यान गुमाएका पाँचमध्ये तीनमा कोरोना पृष्टि भएको थियो। अन्य दुईजनामा भने कोरोना देखिएन। लामो दूरी पार गरेर कोरोना जितेका ती दुईले मृत्युलाई भने जित्न सकेनन्।

जुम्लास्थित चन्दननाथ नगरपालिका–८, भैरव मावि धुपीढुस्का क्वारेन्टिनमा ६५ वर्षीय एक पुरुषको मृत्यु भयो। उनी बर्दियाबाट जुम्ला पुगेका थिए। उनी दमका रोगी थिए।

दैलेख दुल्लु नगरपालिका–११, का ३५ वर्षीय पुरुषको पनि क्वारेन्टिनमै ज्यान गयो। सोही नगरपालिका–७, मा निर्माण गरिएको क्वारेन्टिनमा उनको मृत्यु भएको थियो।

त्यस्तै होम क्वारेन्टिनमा बसेका डोल्पाका ५८ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ। १९ गते सुर्खेतबाट दमको उपचार गरी फर्किएका डोल्पाको जगदुल्ला गाउँपालिका–३, का ती पुरुषको २१ गते मृत्यु भएको थियो। मृत्यु भएपछि कोरोना परीक्षणका लागि २२ गते उनको स्वाब संकलन गरिएको थियो। २३ गते कोरोना परीक्षण गर्दा ती मृतकमा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले बताए। ती पुरुषले आफूलाई कोरोना लागेको थाहै पाएनन्।

कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण सिर्जित बन्दाबन्दी (लकडाउन) का कारण रोजगारी गुमेर भारतबाट आएका उनीहरूको ज्यान गएपछि कर्णालीमा त्रास फैलिएको छ।  सामान्य अवस्थामा समेत कर्णालीवासी अकालमा ज्यान गुमाउन बाध्य छन्। ‘यस्तो महामारीमा सरकारले गम्भीरताका साथ स्वास्थ्य परीक्षण गरेन,’ कर्णाली प्रदेशसभा सदस्य हिमबहादुर शाहीले भने। सरकारले क्वारेन्टिनमा बसेकाको पनि स्वास्थ्य परीक्षण गर्न नसकेको उनले बताए।

बाच्नका लागि घर फर्किएका केहीले घरै नपुगी क्वारेन्टिनमै ज्यान गुमाएको वीरेन्द्रनगरका सुशील केसीले बताए। हालसम्म कर्णालीमा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ।

स्थानीय तहरको कमजोर परीक्षण प्रणाली र प्रदेश सरकारको भद्रगोल व्यवस्थापनका कारण कोरोना संक्रिमतले ज्यान गुमाउनुपरेको स्थानीयवासीको आरोप छ। समयमै परीक्षण भएको भए उनीहरूको बच्न सक्ने दिनेश बडुवालले बताए। ‘समयमै कोरोना परीक्षण भएको भए ज्यान जाने सम्भावना कम हुन्थ्यो,’ उनले भने, ‘उनीहरूले समयमै उपचार पाउँथे।’

कोरोना संक्रमण भइसकेपछि उपचार अभावमा दुईजनाको मृत्यु भएको खिमबहादुर चपाईं बताउँछन्। ‘उनीहरूले उपचार र पारिवारिक स्याहारसुसार पाएनन्,’ दैलेखका गोविन्द भारतीले भने, ‘कोरोना परीक्षणमा सरकार चुकेको छ।’ भारतबाट आउनेको संख्या बढेको तर कोरोना परीक्षण कछुवा गतिमा हुँदा समस्या जटिल बनेको उनको भनाइ छ।

अहिले कर्णालीमा ३५ हजारभन्दा बढी मानिस भारतलगायत मुलुकका अन्य क्षेत्रबाट आएको कर्णाली प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारका अनुसार एक लाखभन्दा बढी कर्णालीवासी घर फर्कन सक्ने सम्भावना छ।

कोरोना परीक्षण दायरा बढाउनुपर्ने कर्णालीवासीको माग छ। अहिले भारतलगायत तेस्रो मुलुक र देशका विभिन्न क्षेत्रबाट आएर क्वारेन्टिनमा बसेकाको मात्र परीक्षण भएको हुँदा अब समुदायस्तरमा पनि परीक्षण गर्नुपर्ने वीरेन्द्रनगरकी देवीसरा विकले बताइन्। ‘आरडिटी मात्र चेक गरेर भारतबाट आएका धेरै घर गएका छन्,’ उनले भनिन्, ‘आरडिटी भरपर्दो नहुँदा घर गएका केहीमा कोरोना हुन सक्छ। त्यो समुदायका लागि खतरा हो।’
(नागरिक न्युजबाट)

सम्बन्धित् समाचार