एउटा प्राकृतिक तथा जैविक प्रक्रिया जुन हरेक महिला अनि किशोरी उनको जिवनको आधा उमेरसम्म हरेक महिना यसको अनुभव गर्दछिन, एक अवधी यती महत्त्वपूर्ण छ कि हामी मानव प्रजातीको अस्तित्व नै त्यसमा निर्भर गर्दछ। अझै , हामी यसलाइ वर्जित अथवा अङ्ग्रेजीमा taboo को नाम दिन्छौं। रजस्वला , रगत ,शारीरिक वृद्धि लुकाइन्छ , आखिर किन ? हामी अझै पनि रजस्वलाको कुरा गर्दा अप्ठ्यारो र लज्जास्पद महशुस गर्छौ।
जब मेरो पहिलो रजस्वला भयो , त्यो क्षण अझै मेरो मानसपटलमा रुमलिरहेको छ। स्कुलको स्कर्ट पछाडी लाएको त्यो रातो धब्बाले म अबोध वालिकाको गह भरि आशु आउनु कुनै नौलो कुरो थिएन। जब म अतालिदै घर आइपुगे , मलाई सुर्य भनेको एक देवता हुन देख्न हुन्न भन्दै एउटा सानो अध्यारो कोठामा लगेर राखियो। त्यहाँ पुराना कपड़ा लगाउन दिइयो , ओछ्यान पनि प्राय म सधै सुत्ने भन्दा पुरानो नै थियो। त्यसरी कोठामा राख्नुलाइ रजस्वला हुँदा लुकाउने भनिने रहेछ। पहिलो रजस्वलाको तीन दिन पछि मात्र म त्यो अध्यारो कोठाबाट बाहिर निस्किए।
त्यसबेला मानौ मलाई ठुलो पीडाबाट मुक्ति नै मिलेको जस्तो लगेको थियो। त्यहाँ रहदा मलाई रजस्वला भएको कुरा आफ्नै भाई, बाबा , दाईबाट पनि गोप्य राख्न सिकाइयो। मैले आफ्नै शरीरमा भएको परिवर्तनबारे कसैँ सँग कुरा गर्न लज्जास्पद महशुस गर्न थाले। मैले सभ्य बन्नकै निम्ति आफ्नो रजस्वला बारे अन्जान रहन सिके।
एक अनुसन्धानका अनुसार नेपालमा मात्र १५% प्रतिशत महिलाहरु रजस्वलालाई स्वच्छ रुपमा ब्यवस्थापन गरिरहेका छन् भने बाँकी ८५% प्रतिशत महिलाहरु अस्वस्थकर तरिकाले आफ्नो अवधि काटिरहेका छन्। त्यसमध्धे म पनि एक थिए। म हुर्किएको ठाँउ तेती ग्रामीण नभएता पनि सेनेटरी प्याड किन्न एउटा लज्जित एवम् कठिन विषय थियो। सचेतनाको अभावले गर्दा मैले त्यस बेला पुरानो र फाटेको कपड़ा प्रयोग गर्न थाले। एकचोटी को प्रयोग पछि त्यो धोईन्थ्यो र पुनः प्रयोग गरिन्थ्यो। तर ती कपडा राख्न समेत कसैले नदेख्ने अध्यरो अर्थात घाम नजाने चिसो ठाउमा गुम्स्याएर राख्न पर्थ्यो। हरेक चोटीको प्रयोग र धुवाईले गर्दा , त्यो कपडा खस्रो हुन्थ्यो जस्ले गर्दा कहिलेकाही डावर र संक्रमण नै हुने गर्थ्यो।
त्यसै गरि सामाजिक र धर्मिक प्रतिबन्धहरु अर्का समस्या थिए जुन रजस्वला संग संगै मेरो जीवनमा आएका थिए। अनुमान गर्छु धेरै महिला तथा किशोरीहरु यस्ता प्रतिबन्धबाट अन्जान हुनुहुन्न। तर पनि केहि म यहाँ दोहोर्याउन चाहेँ । मलाई अरु परिवारका सदस्य बसिरहेको ओछ्यानमा बस्नबाट बन्चित गरियो। मैले रगतका धब्बा नलागे पनि हरेक रजस्वला पछि आफू सुतेको ओछ्यान धुन पर्थ्यो। मलाई अशुद्ध मानिन्थ्यो र पुजाकोठामा जान र धार्मिक महत्त्व भएका कुनै पनि बस्तु छुनबाट मनाही थियोे।अधिकाशं परिवारमा यस्ता प्रतिबन्धहरु ठुला महिलाहरुले आफ्ना बालिकाहरु माथि लगाएको देख्न सकिन्छ। आखिर उनीहरु पनि त यस्ता सामाजिक तथा धार्मिक सिमितताहरुलाई आदर्शको रुपमा स्वीकार गर्दै र कुनै पनि हस्तक्षेपको अभावले कारणले , यो एउटा भ्रामक , मिथक र गलत धारणा जुन एक पुस्ता देखी अर्को पुस्ता सम्म पुस्ताहस्तान्तरण भइरहेकाे छ । अझै पनि नेपालमा ८९% प्रतिशत महिलाहरु यस्तो प्रतिबन्धको अनुयायी छन्। यसले गर्दा आत्मबल र आत्मबिश्वासमा पर्ने खाडल लगायत मनोबैज्ञानिक आघात जस्ले गर्दा कलिला बालिकाहरुको प्रारम्भिक रचनात्मक व्यत्तित्व , शेैक्षिक क्रियाकलाप र हरेक पक्षमा निहित असर पर्छ।
सामान्यतया रजस्वला प्रति भ्रामक धारणा र कथित प्रतिबन्धहरु ग्रामीण भु-भागहरुमा मात्र छन् भन्निन्छ। तर जति ग्रामीण भु-भागहरुमा देख्न सकिन्छ त्यती देशका विकशित शहरहरुमा पनि यस्ता कुबिचर जरै गाडेर बसेको छ भन्ने कुरामा म विश्वस्त छु। आफुलाई बुद्धिजीवी ठान्ने तथाकथित पढेलेखेका शहरीया वर्गहरुको मस्तिष्कमा पनि रजस्वला प्रतिको प्रतिबन्धहरु रहिरहेको मैले पाए। यसलाई निर्मुल पार्न अत्यन्त जरुरी छ। आउने दिनहरुमा कुनै पनि महिला सेनेटरी प्याड किन्न पसल छिर्दा पुरुष मान्छे देखेर पसलबाट रित्तै हात नफर्किऊन। २१ औँ शताब्दीमा अाइपुग्दा पनि सेनेटरी प्याडलाई एक शंकास्पद बस्तुझै पत्रीकाले एक- दुई पटक बाहिर बाट बेरेर मात्र ग्राहकलाई उपलब्ध गराउने स्थति नदेखियोस्। रजस्वला लाई सामान्य र सकारात्मक रूपमा स्वीकार गरौं।
म एउटा यस्तो भबिष्यको कल्पना गर्छु जहाँ रजस्वला भनेको अशुद्ध , अपराध , श्राप, असामान्य , अपवित्र, फाेहाेर, पाप, लाज, राेग,अछुत नभई बालिका तथा किशाेरीहरुको जीवनमा आएको परिवर्तनलाई स्वागत गर्ने अवधि बनोस् ।
दीपा पोखरेल
कृषि संकाय चौथो सेमेस्टर
रामपुर क्याम्पस , IAAS