गृहपृष्ठ खबर पाल्पामा टिपर सहचालक मृत अवस्थामा फेला, हत्या आशंकामा ४ जना नियन्त्रणमा

पाल्पामा टिपर सहचालक मृत अवस्थामा फेला, हत्या आशंकामा ४ जना नियन्त्रणमा

तिनाउ गाउँपालिका ३ झुम्सामा एक युवक मृत फेला परेका छन्। सोही गाउँपालिका ६ मस्यामका अन्दाजी २५ वर्षीय इन्द्रबहादुर लम्तरीको शव मंगलबार बिहान फेला परेको थियो। जिल्ला पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार टिपरमा सहचालक काम गर्दै आएका लम्तरी झुम्सास्थित एक घरको कोठा भाडामा बस्दै आएका थिए।

उनी आफ्नै आमा र दाजुसहितको परिवारसँग बस्दै आएका थिए। सोमबार बेलुकी खाना खाएर लम्तरी कोठाबाट बाहिर निस्किएका थिए। झुम्सा बजार नजिकै प्रगतिशील आमा समूहको कार्यालयसमेत रहेको प्रतीक्षालयमा उनी आज बिहान मृत फेला परेका हुन्।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। लम्तरीको शरीरका विभिन्न भागमा निल डाम र रगत बगेको अवस्था रहेको प्रहरीले जनाएको छ। ‘घटना शंकास्पद देखिएको छ’, प्रहरी गिरीले भने ‘सोधपुछका लागि एक जना महिला र तीन जना पुरुष गरी चार जनालाई नियन्त्रणमा लिएका छौं।’ शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठको नेतृत्वमा प्रहरी टोलीले बिहानै घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो।

सम्बन्धित् समाचार