यौन हिंसा- हालका वर्षहरुमा सबैभन्दा बढी चर्चा गरिने विषय हो। तर अझै पनि यो विषयमा बोल्नु कि नबोल्नु भनेर हिच्किचाउनेको संख्या धेरै नै छ। यौन हिंसा र उत्पीडन भनेको बलात्कार मात्र हो भन्ने सोच धेरैमा छ। प्रतिकार गर्न नसक्ने सानी युवतीको छाती माडिनु, ढाड मुसारिनु होस् वा उनीहरुको कमजोरीको फाइदा उठाएर गरिने शारीरिक सम्पर्क- सबै यौन हिंसा हुन्। हामीले प्रत्यक्ष देखिने भौतिक आक्रमणलाई मात्र यौन हिंसा मानिरहेका छौँ र लाग्छ उत्पीडनबारे हामीले सोच्न सकेका छैनौँ, अथवा भनौ रुमल्लिएका छौँ। कसैले कसैको खुसी बेगर मार्ने अंगालो पनि यौन उत्पीडन हो भन्ने मान्न धेरैलाई गाह्रो भएको देखिन्छ। अधिकांश भन्छन्, जाबो एउटा अंगालोको पनि यत्रो बखेडा के निकाल्नु !
पछिल्लो केही समयदेखि चलेको #MeToo अभियान अन्तर्गत धेरैले कार्य क्षेत्रमा भोगेका यौन उत्पीडनबारे आवाज उठाएको देखिन्छ। केही अघि दुई मुद्दाले सामाजिक सञ्जालमा हलचल मच्चायो। एउटा विषय थियो, नायिका साम्राज्ञीले भुवन केसीले दुर्व्यवहार गरेको भनी लगाएको आरोप। अर्को विषय थियो, महिला पत्रकार कसरी यौनहिंसा लगायतका घटनाबाट सुरक्षित हुने भन्ने बारे युनेस्कोको आर्थिक सहयोगमा केही पत्रकारको समूहले तयार पारेको पत्रकार महिलाको सुरक्षा निर्देशिका।
यो निर्देशिकामा लेखिएका विषयवस्तु पढ्दा लाग्छ नयाँ पत्रकारहरुलाई दिइने नैतिक ज्ञान मात्र हो। समाचारको स्रोतसँग कसरी सम्पर्क गर्ने, समाचार संकलनमा जाँदा कोसँग कसरी बोल्ने, जान लागेको ठाउँ सुरक्षित छ/छैन विचार गर्ने, जान लागेको ठाउँको हावापानी कस्तो छ बुझ्ने, समाचार संकलन गर्दा सबैसँग समान व्यवहार गरे यौन दुर्व्यवहार र हिंसा हुँदैन भनी महिलाहरुलाई पाठ पढाउन खोजिएको छ। यो निर्देशिकामा यौन दुर्व्यवहार र हिंसाबाट जोगिनका लागि महिलाहरुले अपनाउनु पर्ने उपायहरु निम्न बुँदामा लेखिएको छ। ती बुँदाहरु र मेरो प्रश्न तथा बुझाई यस्तो छ।
कामको समयअनुसार सावधानी अपनाउने
कस्तो सावधानी ? रातिको समयमा केही हतियार साथमा राख्ने ? पेपर स्प्रे तथा सानो चक्कु ? हो भने स्पस्टता खोई।
स्थानीय संस्कृति र परम्पराको साथै सुरक्षालाई समेत ध्यानमा राखेर काम गर्ने
कसरी ? एउटा धार्मिक समाजमा गएर उनीहरुले कानुन विरुद्ध गरेका कामका बारेमा समाचार लेख्नु पर्यो रे। त्यहाँ जाँदा पनि यौन हिंसा होला कि भन्ने भयका साथ महिला पत्रकार जानु पर्ने समाज अझै छ ? छ भने त्यसका विरुद्ध पहिलो समाचार बन्नु पर्यो होइन र?
आफूलाई कमजोर नदेखाउने, नहडबडाउने। हिंसा नसहने, हिंसाको खुलेर प्रतिवाद गर्ने।
यो स्तरको आत्मक्षमता बढाउने महिला पत्रकारहरुलाई सञ्चारगृहहरुले के कस्तो तालिम दिने गरेको छ? शून्य।
हिंसा भएका खण्डमा प्रहरीमा तत्काल उजुरी गरिहाल्ने। उजुरी नगरे त्यसले थप हिंसा गर्न उत्प्रेरित गर्छ।
सही सुझाव। दुबै महिला पुरुषका लागि।
बस्ने कोठाको झ्याल ढोका राम्रोसँग बन्द गर्ने।
सही सुझाव। दुबै महिला पुरुषका लागि।
कसैले कोठा खोल्न आग्रह गरेमा सोधेर वा हेरेर को मान्छेले ढोका खोल्न भनेको हो बुझेर मात्र खोल्ने।
सही सुझाव। दुबै महिला पुरुषका लागि। तर, यौन हिंसा त बढी चिनेजानेकै व्यक्तिबाट हुने हो। चिनेकै मानिसहरु रहेछन् र पछि दुर्व्यवहार गरे भने?
कसैले पिछा गरिरहेको जस्तो लागेको छ भने सजग हुने।
कसरी सजग हुने? अत्यासको समयमा अनुभवका आधारमा भन्छु चिच्चाएर कराउने र टाउको साविकको भन्दा तल झुकाउन सकिन्छ। तर पनि जोगिने मौका न्यून हुन्छ।
कसैले हिंसा गर्ने प्रयास गरेको खण्डमा प्रतिकार गर्ने, डियोस्प्रे, सिट्ठी अलि लामो खालको टर्चजस्ता वस्तु उपयोगी हुन सक्छ।
आपतको बेलामा के के चाँही गर्न सकिएला ? यिनै सुझावहरु व्यवहारमा लागू गर्न सकिए त किन हुन्थे होलान् यौन दुर्व्यवहार तथा हिंसाका घटना ?
यसै निर्देशिकाले कुनै पनि धम्कीपूर्ण पत्र तथा चेतावनीलाई गम्भीरताका साथमा लिनु पर्ने बताएको छ। सबै पढिसके पछि यस्तो सोच आयो कि हामी महिलाहरुलाई केही कुरा पनि थाहा रहेनछ। यो निर्देशिकाले हाम्रो आँखा खोलिदियो। र, यही निर्देशिकामा लेखे अनुरुप नगरेकाले नै रहेछ महिलामाथि यौन दुर्व्यवहार बढेको। यो निर्देशिका लेख्ने सबैलाई कोटीकोटी धन्यवाद टक्राउन मन थियो तर आत्मस्वाभिमानले दिएन। धन्न, महिलाहरुले कराँते, जुडो तथा आत्मरक्षाका तालिम लिएर मात्र पत्रकारितामा आउन भनिएको रहेनछ।
पत्रकारहरुबाट महिला पत्रकारहरुका लागि बनाइएको यो निर्देशिकाले सञ्चारगृहमै पनि यौन दुर्व्यवहार हुनसक्ने सम्भावनालाई टारेको देखियो। मैले सुरुवातमा भने जस्तै तिमीहरुले यो-यो गर्यौ भने तिमीहरु माथि यस्ता दुर्व्यवहार हुँदैन भनेर परम्परागत शैलीलाई नयाँ कागजमा लेख्ने काम मात्र गरिएको छ। प्रत्याशित पीडितले गर्न नहुने सुझाव भन्दा प्रत्याशित पीडकले गर्न नहुने कामको निर्देशन पो चाहिने होइन र? यहाँ सञ्चार माध्यमको बढी चर्चा भए पनि लेखले हरेक कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहार र हिंसालाई समेट्ने प्रयास गरेको छ।
कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहार मात्र कम हुन सके धेरै हदसम्म महिलाहरु सुरक्षित रहन्छन्। कामकाजी महिलाहरु दिनको थोरैमा ८ घण्टा त कार्यालय भित्र नै हुन्छन्। जुन दिनको एक दुई तिहाई महत्वपूर्ण समय हो।
कार्यस्थलमा हुने यौन दुर्व्यवहारलाई कम गर्न सबै कार्यालयले अनिवार्य के हो यौन हिंसा, के के गर्न हुँदैन भन्ने निर्देशिका राख्नु अत्यावश्यक छ। एउटा निर्देशिका बनाउने र त्यसमा हरेक कर्मचारीलाई हस्ताक्षर गराउने र त्यसअनुरुप नगरे कामबाट निष्काशनसम्म गर्न सकिने व्यवस्था भएमा केही हदसम्म यस्ता घटना कम हुन जान्छन् र हामी भन्दा पछिका पुस्ताको अर्को मी टू अभियानमा आफ्नो नाम दाखिल गर्न नपर्ने अवस्था आउन सक्छ।
हामी पढेलेखेका महिलापुरुष नै पनि केही घटनालाई यसरी हल्का रुपमा लिइदिन्छौँ कि दुर्व्यवहार अनुभव गरेको महिलाले त्यसको बारेमा खुलेर नै बोल्न सक्दैनन्।
एउटा उदाहरण-
मेरो बिहे गरेको करिब दुई महिना मात्र भएको थियो। खाजा खाने ठाउँमा लगभग १२/१३ जना आ-आफ्नो समूहमा खाजा खाँदै थियौ। पदको हिसाबले मभन्दा वरिष्ठ एक जनाले बिना सन्दर्भ ‘अहो उत्तरा त अचेल पुटुक्क मोटायो त, बिहे गर्ने बित्तिकै’ भने।
मैले रिसको झोँकमा ‘म गर्भवती छैन’ र ‘मेरो शरिरको चासो नलिँदा राम्रो’ भनेँ। पछि मलाई मेरै साथीहरुले दाइ जस्तो मान्छेसँग त्यसरी किन बोल्नु भने। तर, त्यो ममाथि भएको दुर्व्यवहार थियो। सायद सबैको लागि यो विषय दुर्व्यवहार नै हो। तर, मलाई चुप लाग्न सुझाव दिए। म पनि चुप नै भएँ। किनकि तिनले मलाई हातले छोएका थिएनन्। तर म हरेका पटक उनको अघिल्तिर हिँड्दा यस्तो लाग्थ्यो तिनका आँखाले मेरै पेटमा हेरिहेका छन्। हो, जुन मलाई असहज अनुभव भयो नि, त्यही हो यौन उत्पीडन।
यदि म काम गरेको सञ्चार गृहले यो-यो काम गर्न हुन्न, यी कुराहरु यौन दुर्व्यवहार अन्तर्गत पर्छ भनेर निर्देशिकामा हस्ताक्षर गराएको भए उनले यस्तो भन्न सक्दैन थिए कि। र, भने पनि म उजुरी लिएर सम्बन्धित निकायमा उजुरी गर्न पुग्थेँ।
शायद नायिका साम्राज्ञीले पनि तत्काल नै आवाज उठाउन सक्थिन् कि। सुरक्षाको प्रत्याभूतिले त हो महिलालाई तत्काल अन्यायका विरुद्ध आवाज उठाउन हिम्मत दिने।
यस्ता सामान्य लाग्ने तर हेयपूर्ण अभिव्यक्ति पनि यौन दुर्व्यवहारमा पर्छ भन्ने मेरो दाबी हो। दाताका लगानीमा तयार पारिएका निर्देशिकालेसमेत यस्ता कुरालाई सम्बोधन गर्न सकेन। किनकी उनीहरुमा इच्छा शक्तिको कमि छ। नत्र देशविदेशमा अध्ययन गरेकाहरुलाई राम्ररी थाहा हुनुपर्ने कुरा हो कि पीडित भन्दा पीडक सच्चिए मात्र दुर्घटना कम घट्छ।
मेरो मात्र होइन सायद धेरैका मनभित्र विभिन्न किसिमका दुर्व्यवहारका घटना तथा सामाजिक सोच प्रति गुनासो गुम्सिएको छ। यिनै गुनासो बीचमा पनि कार्यक्षेत्रमा हुने के-कस्ता गतिविधिलाई यौन दुर्व्यवहार मानिन्छ तिनको लिष्ट र कारण तल लेख्ने जमर्को गरेको छु।
के गर्दा यौन तथा लैंगिक दुर्व्यवहार हुन्छ?
संवेदनशील अंगमा हात लैजानु
अनुमति बेगर महिलाका छाती वरिपरि, ढाड, पाखुरा तथा तिघ्रामा घातहरु लैजानु दुर्व्यवहार मात्र होइन, त्यो यौन हिंसा हो।
इच्छाविपरीत अंगालो
प्रायः मानिस आफूले इच्छाएको मान्छेले मात्र अगांलो हालोस् भन्ने चाहन्छ। इच्छा दुईतर्फी हुनु पर्छ।
एकोहोरो हेरिराख्ने
एकोहोरो अरुलाई हेर्दा अर्को मान्छलाई असहज हुन्छ। अझ महिलाहरुलाई त झन् असहज हुन्छ। आफ्नो कारणले अरुलाई असहज किन पार्ने?
एक पटक नाइँ भने पछि दोहोर्याएर त्यो कुरा गरिरहने
तपाईंले एकपटक कसैलाई अंगालो मार्नु भयो, दोस्रो व्यक्तिले मलाई मन पर्दैन भन्यो भने दोहोर्याएर नगर्नुस्। मान्छेहरु त यति पनि गर्छन कि मलाई तिमी रिसाएको कस्तो राम्रो लाग्छ भन्दै त्यही काम गरिराख्छन्।
शारीरिक बनोटको कुरा
कसैको उचाई, मोटाई तथा कमिकमजोरीमा टिप्पणी नगर्नुस्। तपाईंको एक वाक्यले सम्बन्धित मानिसलाई जीवनभर हिनताबोध हुन्छ।
तिमी विवाहित नभएको भए वा म विवाहित नभएको भए म तिमीलाई जीवन साथी बनाउँथे जस्ता मजाक गर्नु
तपाईंले जिस्काएर भनेको कुरा अर्को व्यक्तिलाई साँच्चै लाग्न सक्छ। कोहीकसैले अपमानको रुपमा लिन सक्छन्। कसैले साँच्चै मायाको आश पनि गर्न सक्छ।
बारम्बार अर्काको जीवनसाथी तथा केटासाथी वा केटीसाथीको बारेमा सोध्नु
सबैको आआफ्नो जीवन हुन्छ। खुला राख्न चाहनेले आफै कुरा गर्छन्। नचाहनेलाई जबरजस्ती गर्दा नराम्रो लाग्छ। कोहीको चित्त दुख्छ। कोहीलाई रिस उठ्छ।
कोही दुई व्यक्ति मिलेकै कारण उनीहरुको नाम जोडेर जिस्काउने
यसरी नाम जोडेर कार्यालयमा कुरा गर्यो भने असहज हुन्छन्।
महिला कर्मचारीलाई धन्यवाद भन्दा वा कामको प्रशंसा गर्दा ढाड मुसार्ने
हात मिलाएर धन्यवाद वा प्रशंसा गर्दा सजिलो भयो नि। हात मिलाउँदा नि अँठ्याएर वा एउटा औँलाले हत्केलामा काउकुती लगाउने हर्कत ठीक होइन।
पुरानो सम्बन्ध छ भन्दैमा सधैं हक जमाउने
सहकर्मीबीच कुनै समय घनिष्ठ सम्बन्ध थियो वा उनीहरुबीच अन्तरंग कुराकानी हुन्थ्यो तर हाल चाँही एकजनाले इच्छा देखाएन भने त्यसको बेइज्जत गर्ने तथा पुराना कुराकानी अरुलाई देखाउने काम नीच कार्य हो। यसले अर्को व्यक्तिलाई पीडा दिन्छ। काम गर्ने स्थानमा राम्रो वातावरण बन्दैन।
त्यसले गर्दा हुने मैले नहुने भन्ने सोच राख्ने
कुनै एक व्यक्ति अर्को विपरित लिंगीप्रति नजिक छ। उनीहरु एक अर्कालाई जिस्काउँछन्, मजाक गर्छन भन्दैमा तपाईंले पनि त्यही गर्न पाउनु पर्छ जस्तो लाग्नु गलत हो। मानिसहरु सहज भएका मानिससँग मात्र हाँस्न जिस्कन मन गर्छन्।
लैंगिकताकै आधारमा कामको जिम्मेवारीमा फेरबदल गरिनु
तिमी महिला हो, यसकारणले यो जिम्मेवारीबाट निकालिएको छ भन्नु अत्याचार हो। यदि आपसी छलफलमा महिलाकै सहमतिमा जिम्मेवार हेरफेर गर्दा केही हुन्न। तर, नैतिक तथा अन्य प्रभाव पारेर यस्तो गरिनु हुन्न।
कहिले विवाह गर्ने भनेर बारम्बार सोध्ने
कोही मानिसहरु विवाहको कुरा गर्न सहज मान्दैनन्। सबैको जीवनमा आआफ्नो कथा हुन्छ। योजना हुन्छ।
विवाहित व्यक्तिलाई बच्चा कहिले जन्माउने भनेर बारम्बार सोध्ने
कोही स्पष्ट बोल्न तथा रहर नभएकाले त सजिलो गरी रहर छैन भन्लान्। तर, कुनै शारिरिक कमिकमजोरीले गर्दा उनीहरुको बच्चा नभएको रहेछ भने उनीहरुमा मानसिक तनाव त बढ्यो नि। यसैपनि घरपरिवारबाट पनि तनाव खेपेका हुनसक्छन्, त्यसमाथि सहकर्मीहरु पनि थपिनु अन्याय भएन?
तिमी केटीहरुले धेरै पैसा कमाएर के गर्छौ भनेर सोध्ने
तपाई जेको लागि पैसा कमाउनु हुन्छ महिलाहरु पनि त्यसैको लागि पैसा कमाउँछन्। आफ्नो क्षमताले घरपरिवार पाल्न, इच्छा लागेको कुराहरु पूरा गर्न।
महिला/पुरुष भएकोको आधारमा पदीय बढुवा तथा घटुवा हुनु
पक्कै पनि जो दक्ष छ उसलाई पदीय जिम्मेवारी दिइनु पर्छ। जस्तै सञ्चार माध्यममा एउटा ब्यूरो सम्हालेर बसेकी महिला पत्रकार सम्पादक हुनको लागि अयोग्य भनेर भन्न मिल्छ ? उनको अयोग्यता के हो स्पष्ट भन्नु पर्छ नकी एउटी तिमी महिला हो, सम्पादकको जिम्मेवारीमा धेरै चुनौती छ भन्ने होइन।
केही पाउन केही गुमाउनै पर्छ भनी प्रलोभन तथा प्रभावमा पारी सम्बन्ध राख्न खोज्ने
तलब बढाउने, काम सिकाउने तथा पद बढाउने बहानामा शारीरिक सम्बन्ध राख्न प्रस्ताव गर्ने
यौनिक सांकेतिक भाषाको प्रयोग गरी म्यासेज गर्ने, यदि कुनै कुरा तथा संकेतले यौनको कुरा व्याख्या गर्छ भन्ने थाहा हुँदैहुँदै त्यही कुरा प्रयोग गरिनु त हेपाहा प्रवृति हो। यो दुर्व्यवहार नै हो।
लैंगिक तथा यौन सम्बन्धी हेपाहा चुट्किलाहरु भन्ने तथा म्यासेजमा पठाउने
तपाईंको प्रवृतिले धेरैलाई अप्ठेरो पारेको हुन्छ र तपाईं प्रतिको इज्जत घटाउँछ।
सधैं श्रृंगारिक बयान गर्ने
कोही महिलालाई राम्रो देखियो भन्नका लागि विभिन्न श्रृंगारिक शब्दको प्रयोग गर्नु आवश्यक नै छैन। एउटा व्यक्तिले एउटी महिलालाई हरेक दिन कार्यालयमा वा म्याम क्या परी जस्ती भन्दै बखान गर्छ भने त्यो दुर्व्यवहार नै हो। सहकर्मीको प्रशंसा गर्दा ओहो आज यो रंगले सुहायो भन्दा सकिन्छ त। त्यहि पनि दिनकै किन भन्नु जुन रंग लगाए पनि वा वा भन्नु त पर्दैन।
गर्भवति महिलाको इच्छा विपरीत पेटमा हात राख्ने
यो काम धेरै महिलाले महिलालाई नै गर्छन। तर पनि गर्भवतिको इच्छा के छ उसको मनाशय के छ भन्ने बुझेको देखिदैन। यो पनि दुर्व्यवहार नै हो।
शारीरिक बनोटको खिसीट्युरी गर्ने
म होचो कदको छु। मलाई राम्रोसँग थाहा छ माथि राखेको सामान मैले निकाल्न सक्दिन। तर, मेरा सहकर्मीले पत्रिकामा काम गर्दा प्रिन्टमा पठाउनु अघि सम्पादकलाई सहीछाप गर्नको लागि तयार पारेको डमी पेपरलाई पर्खालको माथि राखेर निकालेर देखाउ भने। के त्यो दुर्व्यवहार होइन? अरुको कमजोरीमा पूरै समाचार कक्षमा मध्यराति गरिएको के हर्कत हो त्यो ?
कसैको बिरामीपनको मजाक बनाउने
कसैलाई पनि बिरामी भएर बस्ने रहर हुन्न। कोही दिर्घरोगी हुन्छन्। दैनिकी काम गरिरहेका हुन्छन् तर शरीरमा कतै न कतै दुख्ने वा केही भइराख्ने हुन्छ। प्राय महिलाहरुको सवालमा कसरी घर गरिखान्छे भन्ने बढी सुनिन्छ। तपाईको सहकर्मीलाई हौसला दिन सक्नुहुन्न भने चुप लागेर मानसिक तनाव नदिन त सक्नुहुन्छ नि।
यी माथि व्याख्या गरिएका बुँदाबाहेकका धेरै लैंगिक दुर्व्यवहार पनि धेरैले अनुभुति गरेका हुनसक्छन्। केहीलाई लाग्न सक्छ लामो समय एउटै कार्यालयमा काम गरिसके पछि अलिअलि हाँसो मजाक त चलिहाल्छ नी भनेर। तर, त्यही हाँसी मजाकले कसैको भावनामा चोट पुग्छ भने त्यो गलत हो। बारम्बार भनिँदै आएकै एउटै कुरा के हो भने, अरुको इच्छा विपरित ती कार्य गर्न भएन। बुझ्न नि सजिलो, बुझपचाउन नि सजिलो कुरा नै यही विषय हो अरुको इच्छा। यसरी के गर्दा यौन दुर्व्यवहार तथा हिंसा हुन्छ भनि निर्देशिका नै बनाएर हरेक कार्यालयले राख्न सके पनि मानिसहरुको बुझाई परिपक्वता आउँछ कि। माइ संसारबाट साभार







