गृहपृष्ठ कला/साहित्य कुन डरलाग्दो : काेराेना कि समाज ??

कुन डरलाग्दो : काेराेना कि समाज ??

काेभिड-१९ काे बेला थियो । जताततै त्रास नै त्रास थियो । देशकाे विभिन्न ठाउँमा यति मानिसलाई काेराेना लाग्यो र अाजकाे दिनमा मात्रै यति जना मरे भन्ने मात्रै समाचार सुनिन्थ्याे । बाहिर मान्छे धेरै हिडडुल गर्दैनथे , परिस्थिति नै यस्तै थियो । सबैलाई अाफ्नाे ज्यानको माया हुनेनै रहेछ । धन्न अाजसम्म हाम्रो गाउँमा भने काेराेना लाग्याे भनेर सुनिएको थिएन । याे कुराले हलुका भएपनि केही राहत भएको महसुस हुन्थ्यो । तर थाहा थिएन याे पनि कतिदिन सम्म हुने हाे र कुन दिन देखि काेही एउटालाई काेराेना देखिएर गाउँको स्थिति झन खराब हुने हाे, याे बारेमा कसैले केही भन्न सक्दैनथे।

बेलुकी पखकाे समय थियो। क्षितिजमा हेर्दा घामले पनि बिदा माग्न लागेको जस्तो देखिन्थ्यो । भाेली बुबाको मुख हेर्ने दिन रहेकाले बुबालाई केही कपडा उपहार दिउँ भनेर ममि र म अाफ्नै गाउँको कपडा पसलमा जाँदै थियौं । बाटोमा जाँदै गर्दा तल्लो गाउँको अङ्कलले नयाँ अनि अनाैठाे कुरा भन्नुभयो । हामी तीन छक्क पर्याैँ। उहाँले हाम्रो गाउँको डिल्लु दाईकाे घरमा दुई जना मानिस सेताे लुगा र माक्स लगाएर अाएका र सायद काेराेना लागेर लिन अाएका छन भन्ने कुरा गर्नुभयो । हामीले ‘अाबुई! यस्तो त नहाेला कि’ भन्दै अचम्म मान्दै उहाँका कुराकाे खासै विस्वास नगरी अाफ्नाे बाटो लाग्यौं । फेरि त्यहीँ नजिकै अर्को छिमेकी अान्टीले पनि ‘के भएको हाे ‘ भन्दै साेध्नुभयाे । हामीले तल्लो गाउँको अङ्कलले भनेको कुरा जस्ताको तस्तै भनेर कपडा पसल तिर लाग्यौं । डिल्लु दाईकाे घर त्यो कपडा पसलकाे ठ्याक्कै अपाेजिटमा थियो । हामीले त्यो अङ्कलले भनेकाे कुरामा खासै ध्यान नराखी अाफूलाई चाहिएको सामान किनी फर्कियाैँ।

अर्को दिन बुबाको मुख हेरिसकी , खाना पानी खाईअाेरी अारामले बसेका थियौँ । याे काेराेनाकाे कुरा त सारा गाउँ भरि धुवा सरि फैलिसकेको रहेछ। माथिल्लो टाेलकाे एउटा अङ्कलले पनि बुबालाई फाेन गरेर हाम्रो गाउँको डिल्लु दाईलाई काेराेना लागेको कुरा सुन्छु , के हाे खास खबर भनेर साेध्नुभयाे। अब याे कुरा त माथिसम्मै पुगेको रहेछ भन्ने थाहा भयाे। यथार्थ कुरा थाहा नभएका कारण बुबाले ठ्याक्कै यस्तो हाे भनेर भन्न सक्नुभएन । डिल्लु दाईलाईनै फाेन गरेर साेधाैँ कि भन्ने पनि कहाँ नलागेको हाे र, तर बास्तबिकता थाहा नभएका कारण याे कुरा अलि सान्दर्भिक नहाेला जस्तो लाग्याे र यस बारेमा अब धेरै कुरा नगर्ने निर्णयमा पुग्यौं। तर याे मन कहाँ त्यति सजिलै मान्थ्याे र । हामी पुन त्यै हिजो बेलुकाकाे कुरा सम्झन बाध्य भयौं । मनमा पनि अनेकौं विचारहरु दाैडन थाले। के साँच्चै काेराेना लागेकै हाे त? के हिजो अाएका त्यही मान्छे हुन त? अादि,ईत्यादि। याे कुरा शतप्रतिशत ठिक हाे भन्ने पनि त थिएन नि। एक पटक दादालाई फेसबुक मार्फत डिल्लु दाईकाे नजिक काे घरका लाई साेध्न पठायाैँ। त्याे दाजुले पनि काेराेना लागेका कारण चेकजाँच गर्न मानिसहरू अाएका र अहिले दुई दाइ-भाईलाई हाेम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका बताए । तर डिल्लु दाई चाहिँ नमानिकन अाफ्नाे काममा गएका छन समेत भन्नुभयो । अब घर नजिकैका मान्छेले भनेकाे त साँच्चै हाेला भन्नै पर्याे , अनि हामीमा पनि साँच्चै हाेईछ भन्ने भ्रम सिर्जना हुन थाल्यो । याे मन एक्कासि भक्कानिएर अायाे, डर लागेर अायाे अनि हाम्रो घरमा भएको ग्रोशरी शप पनि अब बन्द गराैँ भन्ने निर्णयमा पुग्यौं ।

तर बुबाले भने याे कुरा अलि पत्यारलाग्दाे नभएको बताउनुभयो । काेराेना चेक गर्छु नै भनेर जाँदा त चेक गर्ने मान्छे छैनन् , अब याे घरमै अाएर लैजाने त सवाल नै उठ्दैन । उहाँले यति भनिसकेपछि म मा पनि अलिकति अाशा पलाएर अायाे। साँच्चै नै याे चेकजाँचकाे बिषय पनि त्यति सजिलो कहाँ छ र । एकातिर यी हावामा उडेका हल्लाहरु हुन जस्तो लाग्यो त भने अर्काेतिर यदि साँच्चै लागेकै हाे भने भन्ने डर पनि उत्तिकै लागेको थियो । धेरै बेरकाे गन्थनमन्थन पछि हामी पुन अाफ्नाे काम कुराे तिर अाईपुग्याैँ।

दिउँसोको समय थियो , हामी अारामले सुतिरहेका थियौं । बाहिर पानी परिरहेको थियो भने गड्याङ-गुडुङकाे अावाजले वातावरण नै थर्किरहेकाे थियाे। हामी सुतेपनि निदाउन भने सकेका थियनाैँ। त्यतिखेरै बुबाको फाेनकाे घन्टी बज्याे। यसाे उठेर स्कृनमा हेरेकाे डिल्लु दाईकाे फाेन रहेछ। त्यो देख्नासाथ मेराे अलिअलि लाग्न थालेको निन्द्रा पनि सबै उडेर गयाे। कान ठाडा ठाडा भए, कुरा सुन्नका लागि। खास कुराे के रहेछ जान्नकाे लागि सबै जना एकदम उत्सुक देखिनुन्थ्याे। बुबाले फाेन उठाउनुभयाे। डिल्लु दाई अाफै दङ्ग पर्नुभएकाे रहेछ याे कुरा सुनेर । उहाँलाई धेरैले फाेन गरेर साेधेका रहेछन । अाफ्नाे कुरा अाफैलाई थाहा नभई यत्रो गाउँभरि कसरी फैलियो , अचम्म पर्नु भएछ। अनि त्यो दुई जना उहाँको घरमा अाएका मान्छे पनि ईन्टरनेट बिग्रिएर बनाउन अाएका रहेछन् । माक्स त अहिलेकाे समयमा जस्ले पनि लगाउँछ या भनाैँ लगाउनै पर्छ। उहाँको कुराहरु सुनेर मन हलुका भयो , छुट्टै अानन्द मिले जस्तो भयो अनि अलिकति हाँसो पनि उठेर अायाे। याे कुरा सम्झँदै सम्झँदै धेरै बेर सम्म नै हाँसो लागि राख्यो ।

अनि अत्तर फैलिएको जसरी याे कुरा गाउँ भरि कसरी फैलिएछ अचम्म लाग्यो । नराम्रो कुरा फैलन धेरै समय लाग्दैन भनेकाे साँच्चै हाे रहेछ। याे कुरा कहाँ बाट सुरु भई कहाँ अाईसक्याे, बिचका मेडियटर र ट्रान्सफरमरकाे काम चाहिँ कसकसले गरे। कस्तो बिडम्बना छ, राम्रो काम काे कुरा भए एक घर भन्दा पर जाँदैन , न त कसैले याे बारेमा कुरा नै गर्न चाहन्छ । तर यस्तो नराम्रा कुराहरू बिच मानिस किन अल्झिरहन्छ,बारबार अरूका कुराहरू नियालिरहन्छ।

मलाई, सानाेमा सरले गराउनु भएको एउटा खेल याद अायाे। पहिलो बेन्चकाे छेउको साथीलाई सरले कानमा सुटुक्क एउटा शब्द भन्नुहुन्थ्यो । प्रत्येक विद्यार्थी हुँदै त्यो शब्द अन्तिम बेन्चकाे कुनाकाे विद्यार्थीमा अाईपुग्थ्याे। यसरी सुरुदेखि अन्तिम सम्म अाईपुग्दा त्यो शब्द अब नयाँ अनि पहिलाको भन्दा एकदमै फरक, अर्कै अर्थ दिने शब्द बनेर निस्कन्थ्याे। सायद याे खेल नखेल्ने वा यसकाे बारेमा नसुन्ने कमै हाेलान। अाज हाम्रो याे समाजमा पनि यस्तै भएको छ, साेहि घटना घटेको छ। ईन्टरनेट बनाउन भनेर अाएका मान्छे कसरी काेराेना चेक गर्न अाएका मान्छे बने, साेच्दा अचम्मै लाग्छ, तर भएको ठ्याक्कै यहि माथिको खेल जस्तै हाे।

हजुरलाई के लाग्छ ? के याे समाजले साँच्चै मानिसका बाेली र कुराहरूमा विश्वास गर्छ ? कि यस्तै मनगडन्ते र भ्रामिक कुराहरूमा मात्र? समाजका मानिसहरूमा एक अर्का बिचकाे विश्वास त राम्रो हाे तर यस्ता कुविचार माथिको अन्धविश्वास भन्दा त अविश्वास नै ठिक हाेला कि!!

– अारती पाैडेल
कावासाेती, नवलपूर

सम्बन्धित् समाचार