गृहपृष्ठ Featured निलो गुराँस “अध्याय-३”

निलो गुराँस “अध्याय-३”

प्रकाशित मिति:
… … … १०.
                त्यसै के के सोचिरहेको छु र छु उभिइरहेको सडकको एउटा किनारा समातेर । हिँडिरहेका छन् र छन् दौडिरहेका मान्छेहरू र मान्छे बोकेका सवारीहरू कुनै लय समातेर, भ्वाँ भ्वाँ आवाज निकालेर, कालो मुस्लो धूवाँको ओकलिरहेकाछन् । सडक सुतिरहेको छ लमतन्न चिर निद्रामा । छेवैको ढलबाट नमीठो गन्ध जन्मिरहेको छ । सबै सबैको आआफ्नै लय छ, गति छ, सुर छ, ताल छ, ध्वनि छ, प्रकृति र परम्परा छ, शासन र अनुशासन छ । म बस् एक्लै उभिएर त्यो सब हेरिरहेको छु त्यसै-त्यसै । त्यो सब हेरिरहनुमा मेरो कुनै रहर छैन, कुनै स्वार्थ छैन, कुनै बाध्यताले पनि हेरिरहेको छैन त्यो सब । लामो अन्योलता सकेर आफैंलाई सक्रिय बनाउने एक सर्को चेष्टा गर्न मन भएर आउँछ । म सँग गरिहाल्नुपर्ने कुनै त्यस्तो काम थिएन । समयबाट गर्मी हटेको छैन, बाँकी नै छ – त्यसैले चुरोट पिउन मन भएन । भर्खरै सोच्दै गर्दा धेरै लामो समय पछि आज घरमै बसेर दिउँसोको खाजा खाने मुड भएर आयो, अब म बाइक स्टार्ट गर्न थाल्छु ।
                                 त्यत्तिकैमा कतैबाट हतारिएर आएको निलो जिन्स पहेँलो पर्दामा राता फूलहरू फुलेको कुर्ता लगाएको एउटा निलो स्कुटर छेवैमा आएर उभिन्छ । म स्कुटरको दिशामा हेर्छु – हेल्मेट भित्र हाँसेको छ भर्खर फुलेको फूल जस्तो एउटा अनुहार । छातीभित्र काउकुती लाग्छ – ओठहरूको चञ्चलता देखेर । सानो बडो मायालाग्दो अनुहार निर्दोष हाँसिरहेको छ र छ मलाई हेरिरहेको छ । ‘कताबाट ?’ भनेर एउटा प्रश्न सोध्नैपर्ने अनिवार्यता आवश्यक भइगयो ।
ऊ मेरो पुरानो लय समातेर पछाडि मुन्टो घुमाएर व्यङ्ग्य गर्छे – ‘उ त्यताबाट ।’ ऊ अरु हाँस्छे । म बाइक स्टार्ट गर्छु ।
ऊ सोध्छे – कता जाने ?
म उसैको लयमा अगाडि हेरेर बोल्छु – उ त्यता ।
ऊ फेरि हाँस्छे
म उसलाई छोडेर हिँड्ने आँट गर्न सक्दिन
दाहिने हातले बटरारिरहेको छु बाइकको कान र छ जन्मिरहेको एउटा कर्कशपूर्ण कोलाहल । म छु आकाश सकिएको धर्तीको बिन्दु हेरिरहेको । त्यतै पुग्न मन भइजान्छ । फेरि सोच्छु त्यहाँ पुगेर गरिहाल्नु पनि त के नै छ र ? त्यो धर्ती सकिएको ठाउँमा पुगेर देखिने दृश्य नै के के पो हुनसक्छ ? आकाश खसेको हुनसक्छ धर्तीले पिएको हुनसक्छ आकाशलाई । त्यसै त्यसै बान्ता गर्न मन भएर आउँछ आफ्नो सोच देखेर । म जानकार छु ऊ हेरिरहेकी छ त्यसैले मैले उसलाई हेरेको छैन ।
ऊ मलाई विगतमा फर्काउने चेष्टा गर्छे – ‘नजाने त अनि ?’
‘तर कहाँ ?’ म उसलाई र आफूलाई एकैपटक प्रश्न गरिहेर्छु
प्रश्नको गाम्भिर्यता बुझेर ऊ बोल्छे
‘फलो मी’ – ऊ खुसी देखिन्छे
म उत्तर बोल्दिन
ऊ कुर्छे मेरो अनुमति
म ठीक ढंगले सोच्न सक्दिन
अघि भर्खर त म घर पुगेर आमासँग बसेर खाजा खाने बचपनको ताजगीमा एकलट पौडी खेल्दै थिएँ । म भर्खर आएर त्यो युवतीको कसरी भइदिन सक्छु ? मैले जन्माएको एकथान रहर म यति छिट्टै बेचिहाल्न सक्दिन । मैले टाउको हल्लाइहाल्न हुँदैन ।
म ऊ तिर हेरेर बिदा माग्ने प्रचेष्टा बान्ता गर्न चाहान्छु ।
मैले हेरेपछि ऊ पूर्ववत साह्रै मीठो मुस्कुराउँछे । मलाई उसका ओठ पिउन मन भएर आउँछ । म भित्र मडारिन्छ एउटा डरलाग्दो र भयानक कुण्ठाग्रस्त चिन्तन र पलाउँछ सुदुरको नेपथ्यबाट अर्को गतिहिन अभिप्राय । म भर्खर र अघि भर्खरको मनोचिन्तनमा दुईभागमा बाँडिन्छु । म सकिरहेको छैन त्यो निर्दोष हाँसो फुलिरहेको अनुहार यसै बाटोमा छोडेर हिँड्न र सकिरहेको छैन उसको हाँसो भन्दा निर्दोष आफ्नै रहरको गला घोट्न समेत ।
                           लाग्छ – ऊ मेरो मौनता बारे धेरै जानकार छ जस्तो । किनकि ऊ सधैं मलाई यस्तै मौसममा, कालमा र अवस्थामा देख्दी हो र खुब हेर्दी हो । मैले उसलाई देख्ने बेला ऊ अचेल प्रायः हाँसिरहेकै हुन्छे । यो त्यही अनुहार हो जसलाई मैले चुरोटले भरिएको फोक्सोमा ताजा हावा भर्ने बहानामा बिहानको कुनै एकदिनबाट झन्डै एकजोडी महिना पछ्छ्याइदिएको थिएँ । म झसङ्ग झस्किन्छु त्यो दिन पोहोर हिजोआज कै सयम थियो । म उसको कम्मरभन्दा तलको भागमा आँखा पुर्‍याउँछु – त्यहाँ रातो बुट्टा भएको कलेज ड्रेसको छोटो स्कर्ट थिएन, निलो ग्रन्च टाइट पाइन्ट थियो । हात छातामा थिएन – थियो स्कुटरको हान्डिलमा । म उसलाई बडो नमीठो ढंगले हेर्छु ।
‘के भयो के ? नजाने हो ?’ – ऊ कतिबेर देखि मलाई पर्खिरहेकी छ भन्ने मलाई भान हुँदैन ।
           एउटा लय छ घरमा पुग्नैपर्ने कुनै अनिवार्यता नबोकेको सोचमा बगिरहेको, अनावश्यक प्रतीक्षाको बोझ कोही उठाइरहेको छैन र पनि व्याकुल बनाइदिएको महशुस हुन्छ । र अर्को छ, जो मलाई अघिदेखी स्टार्ट बन्द नभएको स्कुटरमा सडकको एककिनारमा कुरिरहेको । ऊ अचेल सधैं मलाई भेट्छे । सधैं सोध्छे मेरो खबर मैले धेरै उत्तर दिन्न र सोध्दिन उसको खबर प्रायः । म महशुस गर्नसक्छु उसमा दिनहुुँ परिवर्तन आइरहेको छ । ऊ त्यो मैले पछ्याउँदाको युवतीजस्तो लाग्दिन । ऊ त्यो विवाहमा भेटिएकी बजारको सुन्दर खेलौना जस्ती पनि लाग्दिन र लाग्दिन सधैं मेरो पसलको बाटो भएर यताउता गर्दै मलाई रंगहीन आँखाले हेर्ने तरुनी यात्रुजस्तो पनि । ऊ अचेल बिहानको घाम जस्ती लाग्न थालेकी छ । ऊ अचेल भर्खर फुल्न थालेको फूल जस्ती लाग्न थालेकी छ । ऊ अचेल साँझको पहिलो पेग जस्तो सम्पर्कमा आउने बित्तिकै असर देखाउने बनेकी छ । ऊ अचेल बिहानको मोबाइलको अलाराम जस्तो बज्न थालेकी छ । ऊ अचेल सुर समातेर बजेको रेडियोको गीत जस्तै गुन्जन थालेकी छ । मलाई उसको बारेमा सोचेर अचेल दिक्क लाग्दैन । म फेरि उसको अनुहार हेर्छु उसलाई मेरो मौनताले कत्ति पनि डसेको छैन छैन कुनै असर । ऊ किन यति धैर्य किन यति शालीन भइदिन थालेकी छ म सँग ?
          म बुझ्दैछु उ उभिएर पार नलाग्ने निचोडमा पुगि । मलाई थाहा छ अब ऊ स्कुटरलाई कतै अड्याउन चाहान्छे । मलाई लागेको छ ऊ स्कुटर बन्द गरेर मेरो अगाडि आएर नजिकैबाट मलाई हेरिरहन चाहान्छे – यही मौनतामा । म उसलाई अरु अन्योलतामा राख्न चाहान्न । ऊ कतै गइदियोस् भन्ने लागेको छ । तर ऊ त्यो सब केही गर्नेवाला छैन । म एकपटक बोल्नुपर्ने नतिजामा पुग्छु – कता जाने ?’
‘एज यु लाइक ।’ ऊ ढुक्कसँग बोल्छे तुरुन्तै
मलाई यतै कतै वा अन्त कतै जाने भन्ने हेक्का हुँदैन ।
म ऊ तिर आधा सेकेन्ड हेरेर फेरि पुरानै हालतमा फर्कन्छु ।
‘मैले भनेको ठाउँमा जाने त ?’ – ऊ प्रश्न गर्न बिर्सिदिन्न ।
मैले स्ट्यान्ड भाँचें र फेरि कान बटारें बाइकको । मेरो उडान भर्ने तयारी देखेर ऊ पनि त्यसै गरि र सिधै अगाडि बढी । १० मिटर अघि पुगेर साइट मिररमा मलाई हेरि म त्यहीँ थिएँ । अब उसलाई पछ्याउनुको विकल्प म सँग थिएन ।
           ३० मिनेट लगातार गुडेर उसको स्कुटरले दायाँ तिर कुनै नवविवाहिताको सिउँदोमा सजिएको सिंदुरजस्तो जंगलको बीचबाट कोरिएको सुकिलो एउटा सडकमा पस्यो । ऊ ठीक साढे दुई मिटर अघि छ मभन्दा । बिस्तारै गति घटाएर ऊ मेरो समानान्तर हुने चेष्टा गर्छे । म बुझ्छु उसको इरादा । म उसको गति समात्ने यत्न गर्छु ऊ फेरि मुस्कुराउन थाली हेल्मेटको सिसा खोलेर । म त्यसै गर्छु । म चुपचाप उसलाई कपि गर्छु । ऊ रोक्छे स्कुटर र सोध्छे – ‘किन खोलेको सिसा ?’ भनेर । म बोल्छु – ‘फलो मी भन्या हैन अघि ?’ ऊ सन्तुष्टसँग हाँस्छे मेरो उत्तर सँग । अघिको मुस्कुराहटलाई कत्ति पनि परिवर्तन नगरीकन ‘उम्म’ शैलीमा टाउको हल्लाएर स्कुटर सकेसम्म छिटो अगाडि बढाई ।
              रोकिएको ठाउँ मेरो लागि पुरानो थिएन । हरियो फाँटमा पर्याप्त ठाउँ लिएर पानी जमेको शान्त तलाउ, अघि बढ्न बिर्सेको जस्तो देखिने जंगल अलिक पछाडि नै छोडिएको छ । तलाउ छेउछाउमा रंगीन कपडाले छाएका प्लास्टिकका छाना भएका कुर्सी टेबल टाढा सम्म फैलिएका छन् । एउटा टेबलमा पुगेर उसले हेल्मेटलाई बसाली, मैले त्यसै गरें – ‘यो पनि फलो गरेको हो ?’ ऊ सोध्छे । म भन्छु – ‘कुनै शंका ?’ मुस्कुराइदिनुपर्ने पालो मेरो थियो । ‘नप्’ भनेर ऊ शान्त भई । सँगैका कुर्सीमा बसेर म मोबाइल चलाउन शुरु गर्दै थिएँ खोसेर ऊ बोल्छे ‘नो मोबाइल अन्टिल वि लिभ ।’ मलाई नयाँ इमेल चेक गर्नू थियो – मैले त्यसै भनें । ‘त्यसो भए मै हेर्दिन्छु’ भनेर प्यार्टन खोल्ने शैलीमा स्क्रिन म तिर फर्काई । फेसलकले फोन खुल्यो । म सँग मोबाइलमा लुकाउनुपर्ने केही थिएन । उसले फटाफट इमेल खोली, कुनै नयाँ इमेल त्यहाँ थिएन । त्यो देखाएर स्कृन लक गरेर मेरो फोन टेबलमा राखी आफ्नो फोन मेरो फोन माथी राखी । मैले फोन तिर हात लग्दै मात्रै थिएँ रिसाउँदै ‘आइ सेड नो फोन’ भनेर मेरो नाडीमा समातेर टेबुल तिर जान रोकि मैले बल गरेर उसको मोबाइल समातेर मेरो फोन माथिबाट हटाएर सँगै राखिदिएँ । मलाई खित्का छुट्ने गरि हाँसो उठ्यो र त्यसै गरें । म एकछिन हाँसेपछी उसले बल्ल कुरो बुझी र ऊ पनि हाँस्न थाली म धेरै बेरसम्म लगातार हाँसी नै रहें । ऊ संयमित ढंगले बीचबीचमा रोकिँदै लजाउँदै मुख छोप्दै हाँसी । म यसरी नहाँसेको धेरै भइसकेको थियो ।
           वेटर सँग आफ्नो फेब्रेट डिस अर्डर गरेपछि उसले सोधी – ‘मेरो नम्बर किन फालेको फोनबाट ?’ ऊ अन्तरवार्ता गर्ने मुडमा देखिन्थी । मलाई थाहा भइसक्यो यसको उत्तर पाएपछि ऊ अरु प्रश्न सोध्ने छ । म केही बोलिन । मलाई चुरोट पिउन मन भयो तर अर्डरमा मेरो रूचिको कुनै कुरा समावेश थिएन ।
उसले टेबल माथी सुतिरहेको मेरो हातको हत्केला आफ्नो दुबै हत्केला भित्र राखेर फेरि त्यही प्रश्न दोहोर्‍याई । मैले अर्को हातले मोबाइल उठाएर देखाएँ – ‘नयाँ हो ।’
मेरो हातबाट दुबै हात हटाएर अनुगार बिगार्दै उसले भनी – ‘नयाँ फोनमा मेरो नम्बर राख्न नभएर पो हो ?’
मैले अलिकति मुस्कुराएर भनें – ‘नम्बर सेभ भएको फोन हरायो ।’
‘सो ह्वाट ? ड्राइभमा सेभ हुन्छ त नम्बर ।’ ऊ अरु बिग्रँदै बोली
मैले उसैको अगाडि फोन उठाएर ड्राइभ ओपन गरें । केहीबेर घुमेपछी ‘डाटा ब्याकअप कम्प्लिट’ भएको जानकारी आयो । कन्ट्याक्ट् लिस्ट हेर्दा उसको नाम देखियो । ऊ सब शुरु देखि नै हेरिरहेकी छ ।
 नाम नम्बर देखेपछि ऊ खुसी हुँदै सोध्छे – ‘हुँदो रैछ त, किन नगर्‍या आजसम्म ?’
‘सिकाउने मान्छे नभएर ।’ मैले भनें । त्यो सत्य पनि थियो ।
हराएका नम्बर खोज्न मलाई महिना भन्दा बढी लाग्यो तर कहिल्यै ड्राइभमा ब्याकअप छ भन्ने कुराको हेक्का नै भएन । मैले त्यो सब उसलाई सुनाएँ । ‘चुरोट र रक्सी भको भए याद हुन्थ्यो, अरु भएर याद नभएको हो ।’ – उसले यसरी भनी मानौं ऊ मेरो यस आदतबाट बर्षौं देखि आहत छ । मैले मुन्टो घुमाएँ ।
       मलाई त्यो सब मन नपरेको कुरा उसले बुझी । ऊ प्रसंग बदल्न चाहान्छे तर यत्तिकैमा अर्डर बोकेर वेटर आयो । मैले खानेकुरामा आँखै नलगाई वेटरसँग चुरोट मगाएँ । यस्तो पहिलोपटक हुँदै छ, म उसको अगाडि चुरोट पिउँदैछु । यसो हुनुमा पनि उसले अघि कोट्याएको प्रसंग जिम्मेवार छ नत्र यो बसाइँमा चुरोट नपिउने सम्भावना बढी थियो ।
           टेबुलमा तारेको माछासँग चटनी, सस, भुटेको चिउरा अरु के के छ, तर म त्यहाँ छैन मेरो ध्यान त्यता छैन म मा भोक छैन रूचि छैन त्यो उठाएर मुखमा हाल्ने जाँगर छैन । म यताउता आँखा घुमाइरहेको छु । ऊ अर्डर आएदेखी मलाई एकोहोरो घुरेर हेरिरहेकी छ । ऊ चाहान्छे म उसलाई खानको लागि आग्रह गरौं र उसले मुखमा पुर्‍याएपछि म आफ्नो खाना शुरु गरौं । अथवा हुनसक्छ म आफ्नो हातले उसलाई ख्वाइदिउँ । त्यो सब त मेरो मुड ठीक नै भएको भएपनि हुँदैन थ्यो । म यी सब कुरा फिल्म देखि किताबसम्ममा भेट्दा पनि ‘इरिटेड’ हुन्छु भनें आफैंले गर्ने कुरा मेरो सोचभन्दा धेरै टाढाको कुरा हो ।
      मेरो चुरोट आइपुग्यो । आगो आएन । आगो नल्याएको झोकमा म वेटरलाई हप्काउने हर्कत गर्छु । उ अपराध महशुस गरेर तत्कालै आगो खोज्न दौडिन्छ र छिटै लाइटर लिएर आउँछ । मलाई पहिलो सर्कोको तलतलले ऐंठन भइसकेको थियो । दुई चार सर्को तानेपछी मलाई सास फेर्न सजिलो भएजस्तो लाग्यो । कुर्सीबाट उठेर तलाउको छेउमा उभिएर बाँकी चुरोट सकाएँ । यस्तो खुल्ला ठाउँमा उभिएर चुरोट पिउनु मेरो रूचिको बिषय समेत हो । मलाई तत्कालै अर्को चुरोट तान्ने मन भयो । तर चुरोट अर्को थिएन । मगाउनको लागि वेटर त्यहाँबाट गइसकेको थियो । काउन्टर अलिक पर छ म त्यहाँ जान झ्याउ मान्छु र फर्केर टेबुलमा पुग्छु ।
             टेबुलको खाना उस्तै छ, जस्तो वेटरले राखेर छोडेको थियो । त्यो युवती खानेकुराको साटो मलाई मात्रै हेरिरहेकी छ भन्ने मलाई थाहा छ । मैले टेबुलमा बसेर अनुहारमा सकेजती शान्ती देखाएर भनें – ‘हेर, म यस्तै छु । म आज आएर यस्तो भएको होइन, शुरुबाटै यस्तै थिएँ ।’
~मौन~
‘कुनै कुराको लागि, कुनै प्राप्तिको लागि, रहर सपना स्वार्थको लागि आफैंलाई बदल्नु पाप हो भन्ने मेरो बुझाइ रहेको छ ।’
~मौन~
खाना सेलायो । खाऊ ।
~मौन~
त्यो जे हुँदै थियो वा भइरहेको थियो आवश्यकता भन्दा बढी भइरहेको थियो । मलाई भित्र भित्रै नमजा लाग्न थालिसकेको थियो । आफैंले रोजेको खाना अगाडि राखेर एकजना युवती मलाई घुर्की देखाईरहेकी छ । म उसलाई ठीक ढंगले बुझ्न सक्दिन । म उसलाई ठीक ढंगले सम्झाउन सक्दिन । म उसलाई ठीक ढंगले आवश्यक कुरा बताउन सक्दिन । ऊ म सँग यस्तै केही अपेक्षा गरेर मुड खराब गरिरहेकी छ ।
            ध्यान बिल्कुल हटेको छ । आँखा पारीपारी क्षितिजसम्म लगेर ठोक्काईरहेकी छ । अनुहारमा कुनै चमक छैन । अघि सडकमा फुलेको हाँसोको प्रतीक मुहारको कुनै कुनामा बाँकी देखिँदैन । म बुझ्छु ऊ रिसाएकी छ । तर मलाई फकाउन आउँदैन । म उसको ध्यान मोड्ने यत्न गर्छु र नानाथरी के के के के भनी हेर्छु । ऊ एकछिनको लागि आँखा म तिर दगुराउँछे र पुरानै लयमा फर्कन्छे । म अब उसको कुर्सी सँग मेरो कुर्सी जोडेर बस्ने पौरख गर्छु । म उसका हात समातेर अपराधी शैलीमा उसलाई मनाउने फकाउने चेष्टा गर्छु । ऊ अब मलाई ध्यानसँग हेर्न थालेकी छ । म खाना खान पटकपटक अनुनय गरिरहेको अभिनय गरिरहेको छु । मलाई पहिलोपटक यसो गरिरहनु परेको छ तर म आफ्नै हर्कत सँग सशंकित छु, भयभीत छु । मलाई उसको शरीर छुनुमा डर लागेको छ । डर लागेको छ उसको नाक भएर निस्केको तातो बाफ सँग । उसको शरीरबाट निस्केको गन्धले मलाई भित्रैदेखी हल्लाइदिएको छ । तर म यो सब उसलाई सुनाउन सक्दिन । मैले समातेको हात कत्ति पनि नबिगारीकन ऊ मेरो शैली ढुक्कसँग हेरिरहेकी छ । म सँग गर्ने बोल्ने सबै हर्कत सकिए तर ऊ कुनै हर्कतमा आउने तयारी गर्दिन । म केही समय शान्त रहेर उसलाई खाना खान भन्छु । मेरो हातबाट आफ्नो हात हटाएर ऊ खाना खान शुरु गर्छे । म चुपचाप त्यो हेरिरहेको छु । एकाध चम्चा मुखमा डोबेपछी ऊ मलाई खानको लागि इसारा गर्छे तर अझैपनि उसको अनुहारमा चमक छैन ।
                     म एकटुक्रा माछा काँटा चम्चाले मुखमा लैजाने अभिनय गर्छु । तर यो अपर्याप्त थियो त्यसैले यसलाई निरन्तर दोहोर्‍याउनुपर्यो । सबै सकिँदासम्म ऊ पुरानै मुद्रामा देखिन्छे म त्यसको असरमा अरु नयाँ आकृति धारण गरेको छु भन्ने भानमा पुग्छु । म उसलाई यहाँबाट निराशा बोकेर फर्कन दिने पक्षमा जरुर थिइन ।
             केहीबेरमा फेरि वेटरले अनुहार देखायो, मेरो चुरोटको भोक बाँकी थियो फेरि मगाएँ । उसले निधारले हेरेर ‘पर्दैन’ भनी । मलाई पहिलोपटक हार्नुपर्यो । म उसलाई हेरेर हासें, वेटर मलाई हेरेर हाँस्यो – उसले अनुहारमा चमक भरी । मैले ऊ तिर फर्केर बिस्तारै ‘ओके’ भनें – वेटर बाटो लाग्यो । मलाई तलाउको छेउमा उभिएर चुरोट पिउनु थियो त्यो सम्भव नभएपछि यसै तलाउ हेर्ने मन बोकेर उभिन्छु – ऊ त्यसै गर्छे । म तलाउ तिर लाग्छु – ऊ पछ्याउँछे । चप्पल अलिकति वरै फुकालेर ऊ पानीमा टेक्ने हर्कत गर्छे – छेउछाउ जलकुम्भीका ससाना जीवन बाँचेका छन् ऊ त्यसलाई वास्ता गर्दिन र अघि बढ्न खोज्छे । के सोच्छे र फेरि रोकिन्छे यत्तिकै । म उसलाई ससाना बालकको हर्कतमा देख्छु । ऊ नजिक आएर  ‘जानै नसकिने रहेछ ।’ भनेर थचक्क चरमा बस्छे । म अझै परपरसम्मको दृश्य पिएर अघाइसकेको छैन । ऊ मलाई बस्न निम्तो दिन्छे – म दोस्रोपटक हारें, मन नभएर बस्नुपर्‍यो ।

सम्बन्धित् समाचार