रूपन्देहीमा निषेधाज्ञाको उल्लंघन गर्ने तीन जना कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले निषेधाज्ञाको उल्लंघन गर्ने आठ जनालाई कैद सजायको माग गरेकोमा पाँच जना भने जरिवाना रकम बुझाएर छुटेका छन् ।
निषेधाज्ञाको अवज्ञा गर्ने ती आठ जनालाई सम्झाई बुझाई गर्दा पनि नमानी काममा बाधा पुर्याएको भन्दै प्रहरीले कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाएको थियो ।
उनीहरूलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएकोमा सात जना पुरुषलाई एक महिना कैद वा सोबराबरको जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सात जना पुरुषलाई प्रतिव्यक्ति ९ हजार १ सय र एक जना महिलालाई छ सय जरिवाना तोकिएको थियो । तीमध्ये पाँच जनाले कैद र जरिवानाबापतको रकम दाखिला गरेकाले छाडिएको र तीन जनाले जरिवाना तिर्न नसकेकाले कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सत्यनारायण थापाले बताए ।
कोरोनाको संक्रमण नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले १६ वैशाखदेखि ३० सम्म निषेधाज्ञा जारी गरेको छ ।








