कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई कोभिड–१९ संक्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन रूपमा अनुमति दिएको हो ।
कोभिडबाट अतिप्रभावित राजधानी दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ । सरकारले जारी गरेको विज्ञप्तिमा औषधि कोभिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक’ रहेको उल्लेख छ ।
तर केही आलोचकहरूले कोभिड उपचारका लागि उक्त औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्यांक उपलब्ध नभएको औँल्याएका छन् ।
टू–डीअक्सी–डी–ग्लुकोज वा टू–डीजी औषधि डिफेन्स रिसर्च डिभलप्मन्ट अर्गनाइजेशन (डीआरडीओ)ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो ।
भारतमा कोभिड–१९ संक्रमणका कारण मृत्युदरमा अपेक्षा गरिएअनुसार कमी नआएपछि यसलाई उपचारका क्रममा प्रयोग गर्न अनुमति प्रदान गरिएको हो ।