गृहपृष्ठ खबर नेपालले बादललाई भने- खिमलाललाई असहयोग गरें भने, मभन्दा रद्दी मान्छे कोही हुँदैन

नेपालले बादललाई भने- खिमलाललाई असहयोग गरें भने, मभन्दा रद्दी मान्छे कोही हुँदैन

प्रकाशित मिति:

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो उम्मेदवार खिमलाल देवकोटा रहेको स्पष्ट पारेका छन्।

राष्ट्रियसभा उपनिर्वाचनका लागि सहयोग माग्न कोटेश्वरस्थित नेपाल निवास पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई आफूले सहयोग गर्न नसक्ने जवाफ दिएका हुन्।

आफूले नै खिमलाललाई अघि सारेकाले अब बेइमानी गर्न नसक्ने समेत नेपालले बताएको उनीनिकट एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई बताए।

‘अब मैले तपाईंलाई सहयोग गर्छु भन्न मिल्दैन। तपाईं राजनीतिक मान्छे हो बुझिहाल्नुहुन्छ। विश्वासभन्दा ठूलो केही हुँदैन भनेर भनेको छु,’नेपालको भनाइ उदृत गर्दै ती स्थायी कमिटी सदस्यले भने,’तपाईं अहिलेमात्रै मत माग्न आउनुभयो। मैले खिमलालजीलाई सुरूदेखि नै अघि सारेको हो। त्यसैले यसबारेमा अरू कुरा भन्न सकिँदैन।’

स्रोतका अनुसार बादलले नेपालसँग मतदातालाई विवेकको मत प्रयोग गर्नबाट नरोकिदिनुस् भनेर समेत भनेका थिए। जवाफमा नेपालले विवेक त मतदाता आफैंले प्रयोग गरिहाल्छन् भनेर भनेका थिए।

ती स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत नेपाललाई बादललाई सघाउन भनेका थिए।

‘प्रधानमन्त्रीले समेत बादलका लागि सहयोग माग्नुभएको थियो। तर नेपाल कमरेडले यो बारेमा कुरै नउठाउनुस् भनेर भन्नुभएको हो,’नेपाल निकट स्रोतले भन्यो,’मैले खिमलाललाई असहयोग गरें भने मभन्दा रद्दी मान्छे कोही हुँदैन। यस्तो बेइमानी मबाट हुँदैन भनेर समेत उहाँले स्पष्ट पार्नुभएको छ।’

नेपालले बादललाई आफूबाट भर नपर्न समेत भनेका छन्।

बादलका प्रेस संयोजक किरण भट्टराईले भने नेपालले बादललाई सहयोग गर्ने प्रतिबद्धता गरेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत भेट सकारात्मक भएको समेत उनले उल्लेख गरेका छन्।

‘नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा’बादल’बीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ। भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रित रहेको थियो,’भट्टराईले लेखेका छन्’भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो। भेट सकारात्मक रहेको उहाँको भनाइ छ।’

जेठ ६ गते बागमती प्रदेशका लागि हुने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका तर्फबाट बादल उम्मेदवार बनेका छन्।

त्यस्तै, विपक्षी गठबन्धन (कांग्रेस-माओवादी)ले खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन्।

देवकोटलाई एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहको समेत सहयोग छ।

सम्बन्धित् समाचार