रामबहादुर थापा ‘बादल’लाई भोट नहाले क्षम्य नहुने चेतावनी दिएका छन् ।
६ जेठमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले ३ जेठदेखि मौन अवधि लागू गरेको थियो । यो अवधिमा चुनावी प्रचार प्रसार तथा भोट माग्ने क्रियाकलाप निषेधित हुन्छ । आयोगले मौन अवधिको सूचना प्रकाशित गर्दै भनेको थियो, ‘मौन अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार-प्रसार गर्न नहुने, उम्मेद्वार वा राजनीतिक दलको प्रचार-प्रसार हुने गरी कुनै पनि समाचार वा सूचना प्रकाशन वा प्रसारण नहुने ।’
प्रधानमन्त्रीले ओलीले यसको उल्लंघन गर्दै अपिलमार्फत बहुदलीय व्यवस्थामा पार्टीको निर्णयविपरीत जान नमिल्ने भन्दै बादललाई जिताउन अपिल गरेका हुन् । राष्ट्रियसभा निर्वाचनमा एमालेका माधवकुमार नेपाल समर्थित खिमलाल देवकोटालाई विपक्षी गठबन्धनको साथ छ । नेपाल समूहको मत देवकोटालाई जान सक्ने सम्भावना रहेपछि २ जेठमा महासचिव ईश्वर पोखरेलले ह्वीप जारी गरेका थिए । उम्मेदवार बादलले समेत आचारसंहिता उल्लंघन गर्दै मंगलबार मत माग्न नेता नेपालको कोटेश्वरस्थित निवासमा पुगेका थिए ।
‘हामी सबै जनप्रतिनिधिहरू पार्टीका तर्फबाट उम्मेदवार बनेका हौँ । पार्टीका सयौँ कार्यकर्ताहरू र हजारौँ मतदाताहरूको अमूल्य मतबाट विजयी बनेर यस जिम्मेवारीमा आएका हौँ । निर्वाचन अभियानका क्रममा र विजयपछि पार्टी घोषणापत्रमा उल्लेख गरिएका विषयहरू जसरी पनि पूरा गरी छाड्नेछौँ भनेर हामीले जनतामाझ प्रतिवद्धता गरेका छौँ । हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टीको हितविपरीत काम नगर्ने शपथ लिई आएका छौँ । आफ्नै शपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने विन्दुमा पुग्छौँ ?,’ ओलीले भनेका छन् ।
उनले जनताप्रति गरिएको वाचाप्रित वफादार हुनुपर्ने र कार्यकर्ताको भावनालाई सम्मान गर्नुपर्ने भन्दै पार्टीको उम्मेदवारविरुद्ध अर्को उम्मेदवार खडा हुनु गलत रहेको बताएका छन् । ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौँ जनताको हृदयमा रहेको निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउनेजस्ता विषय हाम्रोजस्तो पार्टीमा त कल्पनाबाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्,’ अपिलमा भनिएको छ ।







