काठमाडौं : लुम्बिनी प्रदेशमा जेठ १७ गते हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचन प्रयोजनका लागि शुक्रबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले विज्ञप्ति जारी गरेर मौन अवधिबारे जानकारी सार्वजनिक गरेको हो।
यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने भनिएको छ।
एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने आयोगको सूचनामा उल्लेख छ। आयोगले मौन अवधिका लागि तय गरिएका आचरणहरु पालना गर्न गराउनका सबैसँग अनुरोध गरेको छ।
उपनिर्वाचनमा, एमाले र कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा छन्। एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य चिन्ह र कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेयलाई रुख चिन्ह प्रदान गरिएको छ।










