गृहपृष्ठ Featured स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि भेरी अस्पतालमा खटाइयो २५ प्रहरी

स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि भेरी अस्पतालमा खटाइयो २५ प्रहरी

भेरी अस्पताल नेपालगञ्जमा सुरक्षाको लागि २५ जना प्रहरी खटाइएको छ।

शुक्रबारदेखि नै अस्पतालमा बस्ने गरी २५ जना प्रहरी खटाइएको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी रविन्द्र धानुकले सेतोपाटीलाई बताए।

अस्पतालभित्रै डाक्टर, नर्सहरूमाथि आक्रमणका घटना बढ्न थालेपछि अस्पताल प्रशासनको माग बमोजिम शुक्रबार बेलुकादेखि नै बस्ने गरी २५ प्रहरी अस्पतालमा खटाइएको डिआइजी धानुकले बताए।

बिहीबार राति मृतकका आफन्तले डाक्टर र नर्समाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड समेत गरेका थिए।

घटनाको चौतर्फी विरोध भएको थियो। अस्पतालका डाक्टर,  नर्स र स्वास्थ्यकर्मीहरूले आफूहरू असुरक्षित बनेको भन्दै आन्दोलनमा उत्रिएका थिए।

स्वास्थ्यकर्मीले भरपर्दो सुरक्षा नहुँदासम्म काममा फर्किन नसकिने स्वास्थ्यकर्मीको माग अनुसार प्रहरी नायब निरीक्षक तेजेन्द्र बिसीको कमाण्डमा अस्पतालमै बस्ने गरी २५ जना प्रहरी सुरक्षाको लागि खटाइएको बाँके जिल्लाका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।

सुरूमा भेरी अस्पतालमा दुई जना प्रहरी सुरक्षाको लागि बस्दै आएका थिए।

तर, कोभिड महामारीको समयमा त्यो संख्या थपेर सात जना पुर्याइएको थियो। बिहीबार रातिको घटनापछि त्यो संख्या बढाएर २५ जना पुर्‍याइएको एसपी रानाले बताए।

‘शुक्रबारदेखि नै हामीले अस्पतालको सुरक्षाको लागि भनेर त्यही बस्ने गरी २५ प्रहरी खटाएका हौं,’ एसपी रानाले भने, ‘अर्को निर्णय  नहुँदासम्म ती प्रहरी अस्पतालकै सुरक्षाका लागि खटिने छन्।’

बिहीबार बेलुका ८ बजेतिर दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, लोकराज रावत र भरत रावत लगाएतले अस्पतालका डाक्टर, नर्सहरूमाथि कुटपिट गर्नुको साथै अस्पतालभित्र तोडफोड गरेका थिए।

घटना भएकै राति तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो।

शुक्रबार अस्पताल प्रशासन र आक्रमणमा परेका डाक्टर, नर्सको जाहेरीका आधारमा ती तीनै जनाविरूद्ध ज्यानमार्ने उद्योग अन्तरगत मुद्दा चलाइसकेको एसपी रानाले बताए।

‘हामीले तीन जनाविरूद्ध शुक्रबार नै ज्यानमार्ने उद्योग अन्तरगत मुद्दा चलाइ सकेका छौं,’ एसपी रानाले भने, ‘घटना अनुसन्धान गर्न प्रहरीलाई अदालतले पाँच दिनको म्याद दिएको छ,यो बीचमा अनुसन्धान पूरा हुन नसके अरू म्याद पनि थप्नका लागि आग्रह गर्नेछौं।’

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी धानुकले पक्राउ परेका व्यक्तिहरू तत्कालै छुट्ने सम्भावना नरहेको बताए।

‘अस्पतालभित्रै डाक्टर र नर्समाथि कुटपिट हुनु सानो घटना होइन,’ धानुकनले भने, ‘यतिखेर देशकै ध्यान हामीमाथि केन्द्रित भएको छ, त्यसैले यो घटनाका दोषीहरू पहिचान गरी कारबाहीका लागि हामी सिफारिस गर्नेछौं।’

उनले घटना अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको र त्यति समय पर्याप्त नभए फेरि म्याद थपका लागि प्रहरीले आग्रह गर्ने बताए।

‘घटनालगत्तै म दाङबाट नेपालगञ्ज आएको थिएँ,’ डिआइजी धानुकले भने, ‘प्रहरीमाथि दबाब हैन सदभाव राखौं र घटना अनुसन्धानका लागि सबैले प्रहरीलाई सघाउन जरूरी छ।’

उनले कसैको भनसुन नचल्ने र घटना अनुसन्धान पछि दोषीलाई कारबाही हुने दृढता व्यक्त गरे।

घटना अनुसन्धान गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको छ। समितिलाई तीन दिनभित्र रिपोर्ट बुझाउन भनिएको छ।

डिल्लीबहादुरको शव परिवारले बुझे 
डिआइजी धानुकले कोरोना भाइरसको संक्रमणबाट बिहीबार बेलुका मृत्यु भएका डिल्लीबहादुर रावतको शव शनिबार परिवारले बुझेको जानकारी दिए।

‘परिवारका सदस्यहरू आएर शनिबार भेरी अस्पतालबाट शव बुझेर लग्नु भएको छ,’ डिआइजी धानुकले भने।

कोरोना संक्रमण पुष्टि भएपछि रावत जेठ ४ गतेदेखि भेरी अस्पतालमा उपचाररत थिए।

सम्बन्धित् समाचार