उज्वल थापाले पछिल्लाे प्लेकार्डमा लेखेका थिए– पहिले जनता बचाउ । सरकार बचाउन जनता आफैँ लागिपर्नेछन् ।
जनताकाे जीवनकाे चिन्ता गर्दागर्दै थापा आफैँ सिकिस्त भएर अस्पताल पुगे । भेन्टिलेटरको सहारा । स्वास्थ्यकर्मीको नियमित निगरानी । अनि बाहिर आफन्तको पट्यारलाग्दाे पर्खाइ ।
हो, यस्तै अवस्थामा मेडिसिटी अस्पतालमा जीवनसँग संघर्ष गरिरहेका थिए, थापा । अन्ततः उनी हारे । मूलधार भनिएकाे राजनीतिको विकल्पकाे दियाे बालेर उनी आफैँ भने अल्पायुमै निभे । विवेकशील नेपाली अभियानका संस्थापक एवं विवेकशील साझा पार्टीका नेता थापाको विगत केही दिनयतादेखि कोरोना संक्रमणका कारण उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियाे ।
जसका कारण समाजिक सञ्जालतिर उनका नाममा पोस्टिएका विभिन्न शुभेक्षाहरू भेटिन्छन् । त्यति मात्र होइन, उनको परिवारले थप उपचारका निम्ति आर्थिक सहयोग मागेको २४ घण्टाभित्रै ५० लाखभन्दा माथिको रकम संकलन भएकाे थियो । ती सब अब सम्झना मात्र भए । तर, उनले देखाएकाे सपनाकाे छाप दूरगामी बन्न सक्नेछन् ।
यो स्नेह उज्वलले त्यसै पाएका होइनन् । यसका लागि उनले जीवनभर थुप्रै संघर्ष गर्नुपर्यो । सदैव देश बनाउने हुटहुटीले उनलाई दौडाइरह्याे । र, यही हुटहुटीप्रतिको प्रेम थियो, उनका शुभचिन्तकको ।
काठमाडौंको बूढानीलकण्ठ स्कुलबाट विद्यालय शिक्षा लिएका थापालाई नजिकका साथीहरूले स्कुलदेखि नै विद्रोही स्वभावको रूपमा चिन्थे ।
एक दिन कक्षा ११ को अंग्रेजी परीक्षामा सोधिएका केही प्रश्नको उत्तर उनले जानेनन् । कारण, उनले अरुले झैँ किताब रटेका थिएनन् । प्रश्नको सार बुझे पनि उनले अक्षरमा उत्तर लेख्न सकेनन् । उत्तर लेख्न नजानेपछि उनले कार्टुन बनाएरै उत्तरपुुस्तिका भरे । उक्त कार्टुन बनाउँदै गर्दा उनलाई खिसी गर्नेहरू थुप्रै थिए । यद्यपि उक्त कार्टुन भने प्रश्नसँगै मिल्दोजुल्दो थियो ।
केही महिनापछि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले उनीहरूको नतिजा पठायो । नतिजा हेर्दा भने सबै दङ्ग परे । थापा स्वयम् आश्चर्यमा परे । कारण, उनले आधाभन्दा धेरै साथीलाई जितेका रहेछन् । र, यही कारण उनलाई चिनेजानेकाहरू ‘म्यभरिक‘ (अपरम्परागत विद्रोही स्वभावको) ठान्थे ।








