गृहपृष्ठ खबर लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत , सरकारका प्रवक्ता भन्छन् – बहुमतले पास गरेर देखाउँछौँ

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत , सरकारका प्रवक्ता भन्छन् – बहुमतले पास गरेर देखाउँछौँ

लुम्बिनी प्रदेशको प्रदेशसभामा भोलि दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरी संसदमा सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । सरकारका प्रवक्ता बैजनाथ चौधरीले भोलि दिउँसो ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तुतका लागि बैठकले सिफारिस गरेको बताए ।

यस्तै, लुम्बिनी प्रदेश सरकारको कोभिड १९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थपिएको छ । मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि रकम थप गरेको मन्त्री चौधरीले बताए ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता चौधरीले बहुमतको सरकारले नीति तथा कार्यक्रम पास गर्ने बताए । विपक्षी दलहरूले सरकारले अध्यादेशबाट नीति तथा कार्यक्रम, बजेट ल्याउने भने पनि सरकारले संसद्‍बाटै बहुमतले नीति तथा कार्यक्रम र बजेट पास गर्ने बताए । ‘हामीसँग बहुमत भएकाले हामीले सदनबाटै पारित गर्नेछौँ । संसद छल्ने काम हामीबाट हुँदैन,’ उनले भने ।

विपक्षी गठबन्धन भने सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पास गर्न नदिने रणनीतिमा छ । मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेकाले उनी नेतृत्वको सरकारले ल्याउने बजेट पास गर्न नदिने नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खाँनले बताए ।

सम्बन्धित् समाचार