खोटाङ : खोटाङको दिप्रुङ चुइचम्मा गाउँपालिकाकी ४८ वर्षीया सावित्रा देवकोटा १४ जेठमा बेहोश भइन्। १० जेठमा कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकी उनी बेहोश हुँदा उद्धार गरेर अस्पतालसम्म लगिदिने कोही भएनन्। आफन्तले खबर गरेपछि गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई आफैं गाडी लिएर देवकोटाको घरसम्म पुगे। उनले देवकोटालाई बोकेर गाडीसम्म ल्याए र अस्पताल पुर्याए।
गाउँगाउँमा कोरोना संक्रमित बढेपछि यस्तो काम आजभोलि गाउँपालिका अध्यक्ष राई र उपाध्यक्ष सपना राईको दैनिकी नै बनेको छ। नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित दुवैजना हिजोआज कार्यालयमा कम जनताको घरदैलोमा बढी भेटिन्छन्। उनीहरु गम्भीर संक्रमितलाई अस्पताल पुर्याउन मात्र होइन, एन्टिजेन परीक्षणका लागि टोलटोलमा स्वास्थ्यकर्मीको साथ लागेर जान्छन्। अध्यक्ष राई भन्छन्, “स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल बलियो हुन्छ भनेर हामी साथमा जाने गरेका हौं।”
अध्यक्ष राईले आफैंले चढ्दै आएको महिन्द्राको स्कार्पियो गाडीलाई यतिवेला एम्बुलेन्सको रुपमा प्रयोग गरिरहेका छन्। गाउँपालिकाको एउटा मात्रै एम्बुलेन्स छ। संक्रमितको संख्या बढेसँगै एम्बुलेन्सलाई भ्याइनभ्याइ हुन थाल्यो। एम्बुलेन्स पुरानो भएकाले बिग्रिरहने समस्या पनि उस्तै थियो। त्यसैकारण जनताको उपचार र उद्धारमा समस्या नहोस् भनेर अध्यक्ष राईले आफूले प्रयोग गर्ने गाडीलाई ‘एम्बुलेन्स’ बनाए, चालक आफैं बने।
राई पीपीई लगाएर संक्रमितलाई अस्पतालसम्म पुग्न गाडी मात्रै चलाउँदैनन्, आवश्यक परेको ठाउँमा गाडीसम्म पुर्याउन आफैं बोक्छन् पनि। अरुले बोकेर गाडीसम्म ल्याउँदा संक्रमण फैलिने डर भएकाले आफैं खटिएको उनी बताउँछन्। “म पीपीई सेट लाएर उद्धारमा खटिएको छु, त्यसैले त्यति डराउनु परेन,” उनी भन्छन्, “सुरक्षाका उपायविना आफन्तले संक्रमितलाई सघाउँदा फैलिने डर हुन्छ।”
सबै ठाउँमा सडक सञ्जाल नभएकाले कतिपय ठाउँका संक्रमितलाई लामो समय पनि बोक्नुपरेको उनको अनुभव छ।
अध्यक्ष राईको साथमा उपाध्यक्ष सपना राई पनि खटिएकै छिन्। बिरामीको उद्धार गर्ने, अस्थायी कोभिड अस्पतालमा लगेर एन्टिजेन परीक्षण गराउने, संक्रमण पुष्टि भए स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन अध्यक्ष र उपाध्यक्ष व्यस्त हुने गरेका छन्।








