गृहपृष्ठ Featured विपक्षी गठबन्धनको कसिलो मोर्चाबन्दीले केन्द्रदेखि प्रदेशसम्म कमजोर बन्दै ओली

विपक्षी गठबन्धनको कसिलो मोर्चाबन्दीले केन्द्रदेखि प्रदेशसम्म कमजोर बन्दै ओली

प्रतिनिधिसभाको असंवैधानिक विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी गठबन्धन कसिलो बन्दा ओली कमजोर बन्दै गएका छन् । विपक्षी गठबन्धनको सहकार्यका कारण उनले एकपछि अर्को धक्का व्यहोरेका छन् ।

कर्णाली प्रदेशमा एमालेको सरकार बनाउने उनको रणनीति विफल भयो । बागमती र लुम्बिनी प्रदेशमा पनि विपक्षी गठबन्धनका उम्मेदवारले बाजी मारे भने गण्डकी प्रदेशमा ओलीका विश्वास पात्र पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पद जोगाउन सकेनन् । यी सबै परिणामको कारण हो विपक्षी गठबन्धनको ओलीविरुद्ध कसिलो मोर्चाबन्दी ।

गण्डकीमा जोगिएनन् ओलीका विश्वासपात्र

गण्डकी प्रदेशमा बिहीबार विश्वासको मतका लागि भएको मतदानमा पृथ्बीसुब्बाले विश्वासको मत प्राप्त गर्न सकेनन् । ६० सदस्यीय प्रदेशसभामा उनले एमालेका २७ सांसदबाहेक अरूको मतप्राप्त गर्न सकेनन् । ५७ मत खसेकोमा उनको विपक्षमा ३० मत परेको थियो ।

उनले नयाँ सरकार गठनका लागि समय घर्किएपछि दाबी पेश गर्दा उनको निवेदन प्रदेश प्रमुखबाट स्वीकृत भएन । त्यसपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा चयन भए ।

राष्ट्रियसभा सदस्य चुनावमा ओली पक्षको पराजय

विपक्षी गठबन्धनले संयुक्त उम्मेदवार उठाउँदा ओली पक्षले बागमती र लुम्बिनी प्रदेशअन्तर्गत भएको राष्ट्रियसभा निर्वाचनमा पनि हार व्यहोर्नुपर्‍यो । बागमतीमा प्रदेशबाट राष्ट्रियसभाका लागि ६ जेठमा निर्वाचन भएको थियो ।

त्यसमा ओली पक्षबाट रामबहादुर थापा बादल उम्मेदवार थिए भने विपक्षी गठबन्धनका तर्फबाट खिमलाल देवकोटाले उम्मेदवारी दिएका थिए । एमालेले बादललाई समर्थन गर्न निर्देशन दिएको थियो । तर, त्यस निर्वाचनमा माधव नेपाल समूहका देवकोटाले विजय हात पारे ।

यता लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाका लागि गत १७ जेठमा चुनाव भएको थियो । त्यसमा विपक्षी गठबन्धनले कांग्रेसका उम्मेदवार दीर्घनारायण पाण्डेलाई समर्थन गरे । नेपाल समूहले समेत उनलाई मतदान गर्दा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का पराजित हुन पुगे ।

एमालेको निर्णयविपरीत सुदूरपश्चिममा माओवादीलाई विश्वासको मत

सुदूरपश्चिम सरकारमा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । नेपाल पक्षका सांसदले भने त्यसलाई अस्वीकार गरे ।

२५ जेठमा विश्वासको मतका लागि भएको मतदानमा एमालेको नेपाल समूहका १७ सांसदले माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रीलोचन भट्टलाई समर्थन गरेपछि उनी नेतृत्वको सरकार जोगिएको थियो ।

कर्णालीमा पनि ओलीका विपक्षीले जोगाएका थिए माओवादी नेतृत्वको सरकार

कर्णाली प्रदेशमा पनि ओलीइतर समूहका सांसदले पार्टीको निर्देशनविपरीत माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई समर्थन जनाएका थिए । ३ वैशाखमा नेपाल पक्षका चार सांसदले फ्लोर क्रस गर्दै शाहीलाई समर्थन गरेका थिए ।

उनीहरूलाई पार्टीले सांसदबाट हटाए पनि सर्वोच्च अदालतले पुनर्बहालीको फैसला सुनाइसेको छ । सर्वोच्चको फैसलासँगै फ्लोर क्रसका गरेका सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले सांसदमा पुनर्बहाली भएका छन् ।

ओलीलाई धक्का यसमा मात्रै सीमित छैन । सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेपछि ओली अर्को संकटमा छन् । त्यही कमिटीले नै कारबाही गरेको कर्णाली प्रदेशका चार सांसद पुनर्बहाली भएका हुन् ।

विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गरेको रिटमा प्रधानमन्त्रीको उम्मेदवारमा नेपाल समूहले शेरबहादुर देउवालाई समर्थन गरेबापत कारबाही हुन नहुने आदेशको माग पनि गरेका थिए । देउवालाई समर्थन गरेका २३ मध्ये ११ सांसदलाई ओलीले त्यही कमिटीबाट कारबाही गरेका थिए ।

नेता नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्रीलगायत नेतालाई साधरण सदस्यसमेत नरहने गरी ओलीले महाधिवेशन आयोजक कमिटीको बैठकबाटै हटाएका थिए । उनको यो कारबाही पनि अब वैधानिक ठहर  नहुन सक्छ ।

ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ताको सौदाबाजीका निम्ति नागरिकतासम्बन्धी अध्यादेश ल्याएका थिए । सर्वोच्चले त्यो अध्यादेश पनि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । ओलीलाई यो निर्णयले पनि धक्का पुगेको छ ।

विपक्षी गठबन्धनले संसद् पुनर्स्थापना र लोकतन्त्रको रक्षाका लागि राजनीतिक लडाइँ सशक्त बनाउने र कानुनी लडाइँलाई जारी राख्ने बताइरहेका छन् । शनिबार मात्रै पाँच पूर्वप्रधानमन्त्रीहरूले विज्ञप्ति निकाल्दै दीर्घकालीन महत्त्वका निर्णय नलिन ओलीलाई चेतावनी दिएका छन् ।

उनीहरूले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै उनीविरुद्धका गतिविधिलाई सशक्त बनाउँदै लाने उल्लेख गरेका छन् । विपक्षी मोर्चा बलियो भएसँगै प्रधानमन्त्री ओली केन्द्रदेखि प्रदेशसम्म कमजोर देखिएका छन् ।

सम्बन्धित् समाचार