युरोकप २०२० अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले शानदार जित निकालेको छ ।हंगेरीविरुद्धको खेलमा पोर्चुगलले ३-० को शानदार जित हासिल गरेको हो ।
खेलको पहिलो हाफ गोलविहीन बनेको थियो । दोस्रो हाफको ८०औँ मिनेटमा हंगेरीले पोर्चुगलको पोष्टको जाली चुमेको थियो । तर, खेलाडी अफसाइड भएका कारण उक्त गोलले मान्यता पाएन ।
खेलको अन्तिम ६ मिनेटमा पोर्चुगलले जादु देखायो । ८४औँ मिनेटमा राफेल गुरेरियोले पोर्चुगलको लागि पहिलो गोल गर्दै खेलमा अग्रता बनाएका थिए ।
पहिलो गोल भएको ३ मिनेटपछि अर्थात् ८७औँ मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । पेनाल्टीमार्फत् पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेलमा अग्रतालाई दोब्बर बनाए । थप समयमा रोनाल्डोले पोर्चुगलको लागि तेस्रो गोल गरे ।
रोनाल्डोले पहिलो हाफको ४२औँ मिनेटमा पनि एक गतिलो मौका पाएका थिए । पोष्टको नजिकैबाट उनले गरेको प्रहार ‘हाई’ हुन पुगेको थियो । समूह ‘एफ’ अन्तर्गतको यस खेलमा जित हासिल गरेसँगै पोर्चुगलले ३ अंक पाएको छ ।








