गृहपृष्ठ खबर कोपा अमेरिका : क्वार्टरफाइनलमा अर्जेन्टिना र चिली

कोपा अमेरिका : क्वार्टरफाइनलमा अर्जेन्टिना र चिली

प्रकाशित मिति:

अर्जेन्टिना र चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार बिहान ब्राजिलियामा भएको खेलमा पाराग्वेलाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले समूह ‘ए’बाट नकआउट चरणको यात्रा निश्चित गरेको हो ।

उरुग्वेसँग १–१ गोलको बराबरीमै रोकिएको चिलीले पनि अर्जेन्टिनासँगै अन्तिम आठको यात्रा पक्का गरेको हो । यो नतिजापछि अर्जेन्टिना सात अंकका साथ समूह एको शीर्ष स्थानमा पुगेको छ । पाँच अंक भएको चिली दोस्रो स्थानमा रहेको छ । त्यसपछि तीन अंक भएको पाराग्वे, दुई अंक भएको उरुग्वे र अंकविहीन बोलिभिया छन् ।

मंगलबारको पहिलो खेलमा उरुग्वे र चिलीले सशक्त प्रदर्शन गरे पनि जितको नतिजा निकाल्न सकेनन् । चिलीका लागि इड्वारर्डो भर्गास र उरुग्वेका लागि लुइस स्वारेजले एक–एक गोल गरे । कोपा अमेरिका इतिहासमा भर्गासको यो १४औँ गोल हो । प्रतियोगितामा पाराग्वेले यही खेलबाट पहिलो अंक जोड्यो ।

लियोनल मेसीको टोली अर्जेन्टिनाले पनि पाराग्वेविरुद्धको जितका लागि निक्कै संघर्ष गर्नुपर्‍यो । अर्जेन्टिनालाई महत्वपूर्ण तीन अंक दिलाउन एलेजान्ड्रो गोमेजले निर्णायक गोल गरे ।

अर्जेन्टिनाले खेलको सुरुवात राम्रो गरेको थियो । यद्यपि, खेलको दोस्रो हाफमा भने उसलाई पाराग्वेको दबाब झेल्नुपरेको थियो ।

तथ्यांकमा अर्जेन्टिनाको खेल
-अर्जेन्टिनाले पाराग्वेलाई पछिल्लो चार प्रतिस्पर्धात्मक खेलमा पहिलोपटक पराजित गरेको हो । अघिल्लो तीन भेटमा बराबरी भएको थियो ।
-अर्जेन्टिनाले यससँगै सबै प्रतियोगितामा गरी आफ्नो अपराजित यात्रा १६ खेलमा पुर्‍याएको छ । त्यसमध्ये नौ खेलमा जित र सात खेलमा बराबरीको नतिजा व्यहोरेको छ । सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएदेखि अर्जेन्टिनाले अन्य खेलामा पराजय व्यहोरेको छैन ।
-लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने जेभियर मास्केरानोको १४७ खेलको कीर्तिमान बराबरी गरेका छन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट उनको यो सयौँ प्रतिस्पर्धात्मक खेल हो ।
-पाराग्वेविरुद्धको यो खेलमा अर्जेन्टिनाको आठ ‘सट अन टार्गेट’ थियो । मेरी युगमा अर्जेन्टिनाको यो दोस्रो कम ‘सट अन टार्गेट’ हो ।

सम्बन्धित् समाचार