गृहपृष्ठ Featured राउटे समुदायले एकैपटक ३७ लाख भत्ता बुझे, मुखिया भन्छन्- जनतालाई केही राहत भयो

राउटे समुदायले एकैपटक ३७ लाख भत्ता बुझे, मुखिया भन्छन्- जनतालाई केही राहत भयो

कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायले प्रतिव्यक्ति २६ हजारका दरले भत्ता बुझेका छन् । कर्णाली प्रदेश सरकारमार्फत सात महिनाको दुई हजारका दरले १४ हजार र संघीय सरकारको चार महिनाको तीन हजारका दरले १२ हजार रुपैयाँ दरले एकमुष्ट प्रतिव्यक्ति २६ हजार भत्ता रकम बुझेका हुन् ।

राउटे समुदायका १४४ जनाले २६ हजारका दरले ३७ लाख ४४ हजार रुपैयाँ भत्ता पाएको दैलेख गुराँस गाउँपालिका–८ का वडा अध्यक्ष हुकुमबहादुर खत्रीले बताए । ‘संघीय सरकारबाट मासिक रूपमा ३ हजार रुपैयाँ पाउँदै आएको थिए,’ उनले भने, ‘कर्णाली प्रदेश सरकारले थप २ हजार रुपैयाँ भत्ता दिएको छ । उनीहरूले सबै गरेर मासिक ५ हजार रुपैयाँ भत्ता पाउँछन् ।’

राउटे समुदायले दैलेखको गुराँस गाउँपालिकाले अस्थायी परिचय–पत्र दिएको छ । दैलेखको गुराँस गाउँपालिकाले नै राउटे समुदायलाई भत्ता बुझाउँदै आएको छ ।

राउटे समुदायले एकमुष्ट २६ हजार रुपैयाँ पाउँदा हर्षित भएका छन् । संघीय सरकारले ३ महिनादेखि र कर्णाली प्रदेश सरकारले ७ महिनादेखि भत्ता नदिएको कारणले समस्या परेको जनतालाई केही राहत भएको राउटे मुखिया मैनबहादुर शाहीले बताए । ‘जनता भोकै बस्नु पर्ने अवस्था आएको थियो,’ उनले भने, ‘भत्ता पाएपछि जनतालाई केही राहत भएको छ ।’

सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदी किनारमा बस्दै आएका राउटे समुदाय मंगलबार कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्ती सरेका छन् । त्यही पुगेर दैलेखको गुराँस गाउँपालिकाले बुधबार भत्ता वितरण गरेको थियो ।

सम्बन्धित् समाचार