आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ ।
आज राति देशभर बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले अहिले देशभर बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको जानकारी दिएको छ ।
भोलि पनि देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । त्यस्तै प्रदेश १ का एक/दुई स्थानमा मेघ गर्जसहित धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
त्यस्तै बिहीबार देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।








