एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनको समूहका सांसदले कित्ता परिवर्तन गर्न सिलसिलाको थालनी भएको छ । यही सिलसिलामा ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलासा भएको छ ।
देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट एकजना एमाले सांसदले देउवासँग आफूलाई मन्त्री बनाइदिन आग्रह गरेका छन् ।
बूढानीलकण्ठ पुगेका ती एमाले सांसदले देउवालाई भने, ‘तपाईले विश्वासको मत त लिनैपर्छ, त्यसबेला म केपी ओलीतिरका ८ जना सांसदलाई फ्लोर क्रस गराएर भोट हाल्न लगाउँछु, यस वापत मलाई पनि सरकारमा सहभागी भएर जनताको सेवा गर्ने अवसर मिलाइदिनुपर्यो ।’
ओली क्याबिनेटमा काम गरेका ती पूर्वमन्त्रीले देउवासँग भने, ‘तपाईलाई एमालेका सांसदको मत चाहिन्छ भने ठिकै छ, चाहिँदैन भने म केही भन्दिनँ ।’
बूढानीलकण्ठ स्रोतले ओली पक्षका पूर्वमन्त्री देउवा निवासमा आएको पुष्टि गर्यो । तर, गोपनीयताका कारण उनको नाम भने ‘एक्स्पोज’ नगरिदिन आग्रह गर्यो । स्रोतले रातोपाटीसँग भन्यो, ‘अहिले नाम उल्लेख नगरौं, तर उनी सुदूरपश्चिमका एमाले सांसद हुन् । पछिल्लोपटक केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा हटाएपछि उनी ओलीसँग रिसाएका रहेछन् ।’
ओली समूहबाट कित्ता परिवर्तन गरेर मन्त्री बन्ने दौडमा लागेका ती एमाले सांसद ओली क्याबिनेटको मन्त्री बनेका बेला विभिन्न अभिव्यक्तिका कारण विवादमासमेत तानिएका थिए ।








