सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङलाई असोज मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक र मनाङलाई २०७८ असोज मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ,’ उनले भने ।
यस्तै, बैठकले खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मित्र राष्ट्रलाई धन्यवाद दिँदै अनुदान वा खरिदमार्फत् थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आह्वान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । ‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी लगायत सबै मित्र राष्ट्रहरूलाई नेपाल सरकारले धन्यवाद दिएको छ । साथै अनुदानमा वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रलाई आह्वान गरेको छ,’ उनले भने ।
बैठकले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको अवसरमा ६ साउनमा सार्वजनिक बिदा दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।







