गृहपृष्ठ Featured क्रियाशील सदस्यता विवाद छिटो सल्टाउन देउवामाथि दबाब

क्रियाशील सदस्यता विवाद छिटो सल्टाउन देउवामाथि दबाब

प्रदेश नम्बर २ का नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका कांग्रेसका धनुषा, सर्लाहीलगायतका नेता-कार्यकर्ताहरूले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनशनमा बस्ने चेतावनी समेत दिए ।

पार्टीको विधानसम्मत ढंगले अन्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको र धाँधलीको तत्काल छानविन नभए आफूहरू आमरण अनशनमा बस्न बाध्य हुने कांग्रेस नेता अमरेश कुमार सिंहले चेतावनी दिए । उनले छिटोभन्दा छिटो यो समस्या समाधान गर्न सभापति देउवासँग माग गरे ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी भाद्र १६-१९ हुँदै छ । तर, क्रियाशील सदस्यता वितरणमा नै धाँधली गरिएको भन्दै विरोधमा कांग्रेसका प्रदेश नम्बर २ का नेता-कार्यकर्ताहरू पार्टी कार्यालयमा अनशनमा बसेका छन् । उनीहरूले जिल्ला छानविन समितिले दिएको सुझावका आधारमा सदस्यतासम्बन्धी विवाद समाधान नगरे मान्य नहुने चेतावनी समेत दिएका छन् ।

जिल्ला छानविन समितिले केन्द्रलाई दिएको सुझावका आधारमा सदस्यता वितरणसम्बन्धी विवाद समाधान नगरे मान्य नहुने कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले बताए । उनले पार्टी केन्द्रले एक पक्षीय ढंगले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न लागेकोमा आपत्ति जनाउँदै मान्य नहुने चेतावनी समेत दिए ।

सम्बन्धित् समाचार