गृहपृष्ठ Featured कपिलवस्तुमा चार दिनदेखि बेपत्ता अब्दुलको शव सुरही नदी किनारमा भेटियो

कपिलवस्तुमा चार दिनदेखि बेपत्ता अब्दुलको शव सुरही नदी किनारमा भेटियो

प्रकाशित मिति:

चार दिनदेखि बेपत्ता कपिलवस्तुको शिवराज नगरपालिका-५ खैरीका ५७ वर्षीय अब्दुल हुसेन मुसलमान (छोटकाउ)को शव फेला परेको छ । गत आइतबार बिहानदेखि बेपत्ता भएका अब्दुलको शव बिहीबार शिवराज– २, हरहट्टीमा भेटिएको हो । सुरही नदीको किनारमा टाउको गाडिएको र हातमा चोट लागेको अवस्थामा उनको शव भेटिएको हो ।

घरबाट निस्केको तीन दिन बितिसक्दा घर नआएपछि अब्दुलको परिवारले खोजतलास गर्दा खैरी गाउँनजिकै पूर्वपश्चिम राजमार्ग छेउमा उनको चप्पल भेटिएको थियो । चप्पल भेटिएको ठाउँमा अब्दुल घरबाट निस्केकै दिन कार दुर्घटना भएको थियो । लु १ ज ३३१३ नम्बरको कार दुर्घटना भएकै ठाउँमा अब्दुलको चप्पल भेटिनु र शवनजिकै सवारीको डाम देखिएकाले घटना रहस्यमय बनेको छ ।

स्थानीयले भने उक्त कारले अब्दुललाई ठक्कर दिएपछि खोलानजिकै लगेर फालेको आंशका गरेका छन् । दुर्घटनास्थलमा चप्पल भेटिनु र शवनजिकै गाडीका डाम देखिनुले दुर्घटनालाई लुकाउन शव फालेको हुन सक्ने स्थानीय रहिस शाहले बताए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शकंरप्रसाद आचार्यले कारचालक विरु कुँवरसहित चार जना पक्राउ गरी अनुसन्धन भइरहेको जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल कपिलवस्तु लगिएको छ ।

सम्बन्धित् समाचार