जुम्लामा बाढीले बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । हिमाली जडिबुटी सेतकचिनी कोरेर घर फर्किने क्रममा जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ७ का एक बालक सहित ३ जनाको ज्यान गएकोे हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार ६० वर्षका बिर्खे रावत, ३५ वर्षकी जैसरा रावत र १० वर्षका छोरा सन्देस रावतको ज्यान गएको छ । जैसरा र सन्देस आमाछोरा र बिर्खे रावत सन्देसको ठूलो बुवा रहेको प्रहरीले जनाएको छ ।
स्थानीय खोलाको पानी जम्मा भएर ताल बनेको र त्यो ताल फुटेर आउँदा बगाएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेको भनाइ छ । ‘माथि पानी जम्मा भएर ताल भएको रहेछ, तल खोला तर्ने क्रममा, त्यही समयमा ताल फुटेर बाढी आउँदा बगाएको हो’, उहाँले भन्नुभयो । घटना दुई दिन अघि भए पनि सदरमुकाम भन्दा निकै टाढा र टेलिफोन सम्पर्क नभएकाले घटनाको जानकारी प्रहरीलाई शुक्रबार मात्र भएको र स्थानीय सहितको सहयोगमा उद्धार गरिएको बताइएको छ ।