गृहपृष्ठ Featured लुम्बिनीका दुई सांसद माधव पक्षमा खुलेर लागे

लुम्बिनीका दुई सांसद माधव पक्षमा खुलेर लागे

प्रकाशित मिति:

लुम्बिनी प्रदेशसभास्थित एमालेका दुई जना सांसद स्पष्ट रूपमा माधव कुमार नेपाल पक्षमा खुलेका छन् । शंकर पोखरेल नेतृत्वको सरकार ढलेपछि प्रदेशसभा सदस्य विष्णु पन्थी र रमा घर्ती नेपाल समूहमा स्पष्ट रूपमा खुलेका हुन् ।

शंकर पोखरेल मुख्यमन्त्री हुँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन् । नेपाल निकट एमाले रूपन्देहीको शनिबारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएसँगै उनीहरूले कित्ता स्पष्ट गरेका हुन् । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने, घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् ।

सांसद पन्थीले आफू सूरुदेखि नै माधव नेपाल समूहमै रहेको बताए । उनले पोखरेल नेतृत्वको सरकार जोगाउन लागे पनि ५ पुसदेखि नै आफूहरू नेपाल समूहमा रहेको बताए ।

यता शनिबारको नेपाल समूहको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागेको छ । दुई/दुई पटक प्रतिनिधिसभा विघटन गरेको, नेकपा विभाजन र एमालेभित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा राजीनामा दिन केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको राजु गुरुङले बताए ।

भदौ १५ भित्र पालिकास्तर जनवर्गीय संगठनको कमिटी निर्माण, भदौ मसान्तसम्म शाखा तहको कमिटी गठन र पुनर्गठन अघि बढाउने निर्णय गरेको नेकपा एमाले उपसचिव सिद्धिचरण भट्टराईले बताए । बैठकलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य डा. विजय पौडेलले अध्यक्ष ओलीकै कारण पार्टी एकता पर धकेलिएको बताएका थिए ।

सम्बन्धित् समाचार