निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी संसदको चौथो शक्ति बन्ने भएको छ ।
बुधबार राति आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिएसँगै सो पार्टीलाई संसदीय दल निर्माणको बाटो खुलेको छ भने आवश्यक प्रक्रिया पुरा गरेपछि सो दलले संसदमा आफ्नो आधिकारिक हैसियत प्राप्त गर्नेछ ।
नेपाल नेतृत्वको पार्टीमा ३० सांसद रहेका छन् । आयोगमा बुधबार सनाखत गराउन तत्कालीन एमालेका ३० सांसद माधव नेपालको पक्षमा खुलेका थिए ।
यससँगै संसदको सबैभन्दा ठुलो पार्टी एमाले विभाजित भएपनि पहिलो दलको हैसियत भने कायमै रहेको छ । यस्तै दोस्रो ठूलो पार्टी काँग्रेस र माओवादी केन्द्र तेस्रो ठूलो पार्टी कायम छ ।








