नेकपा एमालले कारबाही गरेका १४ जना सांसदको पद नजाने भएको छ । नयाँ दल गठन गरेका ती सांसदलाई कारबाही गर्न नमिल्ने निष्कर्षमा संसद सचिवालय पुगेको छ ।
एमालेले २ भदौमा माधव नेपाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरीसहित १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो । संसदीय दलको बैठकले उनीहरूलाई सांसद पद हटाउन गरिएको निर्णय संसद सचिवालयमा पठाएको थियो ।
२ भदौमा माधव नेपाल नयाँ दल दर्ता गर्ने प्रक्रियामा लागे लगत्तै एमालेले सांसद पदबाट कारबाही गर्ने निर्णय गरेको थियो । दल दर्ताका लागि निवेदन दिन नपाउँदै एमालेले संसद सचिवालयमा कारबाहीको पत्र पठाएको थियो । त्यसको प्रतिवादमा १४ जना सांसदले पत्र पठाएका भएपनि उक्त पत्र भने दर्ता भएको थिएन ।
एमालेले कारबाहीमा परेका सांसदको सूचना छिटो प्रकाशन गर्न सभामुखलाई दबाब पनि दिएको थियो । संसद सचिवालय पुगेर नै केही सांसदहरूले दबाब दिएपनि सभामुख सापकोटा एमालेको निर्णय अध्ययनको क्रममा रहेको भन्दै सूचना टाँस्न ढिलाइ गरेका थिए ।
पार्टीले कारबाही गरेर पठाए पनि १५ दिनसम्म सभामुखले अध्ययन गर्ने समय पाउँछन् । यो बीचमा माधव नेपालले अर्को दल दर्ता गरिसकेका कारण उनीहरुलाई कारबाही गर्न नमिल्ने निष्कर्षमा संसद सचिवालय पुगेको छ ।
संसद सचिवालय र सभामुखले औपचारिक रुपमा उक्त निर्णय भने सार्वजनिक गरिसकेका छैनन् । सभामुखनिकट स्रोतका अनुसार सभामुखले कारबाही गर्न नमिल्ने अर्थात सांसद पद खारेज नहुने जानकारी एमालेलाई गराउनेछन् ।








