कपिलवस्तु ।
एक साताअघिको अविरल बर्षापछिको बाढीले बगाउँदा घरबारविहीन कपिलवस्तु नगरपालिका वडा नम्बर ११ बनगाई सकुम्बासी बस्तीका १३ पीडित परिवारलाई टिनको जस्तापातासहित राहत सामग्री प्रदान गरिएको छ। बाढीको भेलले छाप्रोको घर बगाउँदा ती १३ मध्ये १० परिवार घरबारविहीन बनेका छन्।
एक सातादेखि खुला आकाशमा बस्दै आएका ती परिवारलाई मेयर किरण सिंहको निर्देशनमा उपमेयर लक्ष्मी साउ गुप्ताले पीडित परिवारलाई जस्तापाता र खाद्यान्न हस्तान्तरण गरिन्। १० पीडित परिवारलाई घर जग्गाको नापका आधारमा कूल २ सय ६३ वटा जस्तापाता बाँडिएको उपमेयर गुप्ताले बताइन्। यस्तै १३ परिवारलाई प्रतिपरिवार ५० किलो मसिनो चामल, ३ किलो दाल, १ किलो नुन, ५ किलो आलुका दरले राहत उपलब्ध गराइएको छ।







