पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् ।

पर्वतकाे कुस्मा नगरपालिका-३ दुर्लुग घाेगेनीमा बिहीबार राति खसेको पहिराेले पुरिएकाे घर । तस्बिर : कमल रेग्मीकाे फेसबुकबाट
मृत्यु हुनेमा एकै परिवारका ५ जना छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको प्रदेश प्रहरीका डीएसपी मिनबहादुर घलेले बताए ।
साथै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको घलेले बताए । उनका अनुसार मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन् । साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।
बिहीबारदेखि नै विद्युत् सेवा अवरुद्ध भएपछि पर्वतमा सञ्चार सम्पर्क समेत विच्छेद छ ।







