काठमाडौँ : नेपाली खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्न चुकेकी छन् । कांस्य पदकको लागि भएको खेलमा उनी चीनकी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित रहिन् ।
केहिबेरअघि सकिएको खेलमा सुरुआती राउण्डमा पलेशाले ४–२ को अग्रता बनाएकी थिइन् । दोस्रो राउण्डमा चिनियाँ लीले ५–० को स्कोर बनाउँदा समग्रमा ७–४ ले अगाडि रहिन् । तेस्रो तथा निर्णायक राउण्डमा ५–५ को बराबरी स्कोर गरे पनि उनी खेल जित्न असमर्थ रहिन् । खेल अवधिमा उनले ४ पल्टसम्म फलमार्फत विपक्षीलाई अंक सुम्पिन पुगिन् । त्यो नै उनको हारको कारक बन्यो ।
नियमिततर्फ पहिलो खेलमै ग्रेट ब्रिटेनकी बेथ मुनरोसँग पराजित रहेकी पलेशाले रिपिचेज ९हार्ने बीचको प्रतिस्पर्धा०को विकल्पबाट कांस्यका लागि प्रतिस्पर्धा गरेकी थिइन् । रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी ब्रियान्ना सालीनारा र सेमिफाइनलमा सर्वियाकी मासिजा मिसेभलाई पराजित गरेकी थिइन् ।
पारा ओलम्पिकमा पहिलोपल्ट समावेश गरिएको तेक्वान्दोमा पलेशाले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गएपछि छनोट प्रतियोगिता खेल्न पाएकी थिइनन् । त्यसैले वाइल्ड कार्डबाट उनको टोकियो यात्रा सम्भव भएको थियो ।
१८ वर्षीया पलेशाले सन् २०१६ मा राष्ट्रिय टोलीबाट प्रशिक्षण सुरु गरेयता ६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । सन् २०१८ मा भियातनाममा भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले कांस्य जितेकी थिइन् ।