गृहपृष्ठ खबर टी-२० विश्वकपका लागि भारतीय टिम घोषणा

टी-२० विश्वकपका लागि भारतीय टिम घोषणा

काठमाडौं : टी-२० विश्वकपका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ। भारतले विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो। टिममा अनुभवी खेलाडी रविचन्द्रन आस्विनलाई ४ वर्षपछि बोलाइएको छ। पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई मेन्टरको भूमीका दिइएको छ।

टी-२० विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म युएई र ओमानमा हुँदैछ। सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्। जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर-१२ मा पुगेका छन्। सुपर(१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्।

पहिलो चरणबाट चार टिम सुपर(१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ। जसमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिलो दिन भिड्नेछन्।

२४ अक्टोबरमा भारत र पाकिस्तानबीच खेल हुनेछ। सुपर-१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता र समूह बी विजेताले समूह-२ मा प्रतिस्पर्धा गर्नेछन्।

समूह(१ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता र समूह बी उपविजेताबीच खेल हुनेछ।

प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन्।

प्रतियोगिताको सेमिफाइनल १० र ११ नोभेम्बरमा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा दुबईमा हुनेछ।

भारतीय टिम
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, सूर्यकुमार यादव, रिशव पन्त (विकेटकिपर), इशान किसन (विकेटकिपर), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन आस्विन, अक्षर पटेल, बरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहमद सामी
वैकल्पिक : श्रेयस इयर, शार्दूल ठाकुर, दीपक चाहर

सम्बन्धित् समाचार