दसैँअघि लाइसेन्सको अनलाइन फारम नखुल्ने भएको छ । पहिले फारम भरेका ६ लाखले नै परीक्षा दिन नपाएकाले अहिले फारम खोल्नुको औचित्य नभएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए ।
‘आवेदन दिएका ६ लाख मान्छेले पहिले पाउनुपर्यो अनि नयाँ आवेदन खोलौँला नि,’ उनले भने, ‘पुरानोको परीक्षा हुँदै छ, पहिले त्यो क्लियर होस् । ६ लाख अहिल्यै लाइनमा छन्, अर्को ६ लाख थपेर के फाइदा भयो ?’
यातायात व्यवस्था विभागले कोभिड–१९ को महामारीले गर्दा गत १६ वैशाखदेखि लाइसेन्सको अनलाइन फारम बन्द गरेको थियो । विभागले यही १० भदौमा कोभिड–१९ संक्रमणको विशेष अवस्थामा सवारीचालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७८ बनाएर यातायात कार्यालयहरूलाई परीक्षा सञ्चालनको ढोका खोलिदिएको थियो ।
यातायात कार्यालयहरूले सेवाग्राहीहरूलाई यही २० भदौदेखि परीक्षाका लागि कार्यालयको सम्पर्कमा आउन अनुरोध गरेको थियो ।
यातायात कार्यालयहरूले पुरानै नियमअनुसार परीक्षा लिइरहेका छन् । सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशोधित) जेठदेखि लागू भए पनि यातायात व्यवस्था विभागले हालका लागि पुरानै प्रावधानअनुसार परीक्षा सञ्चालन गरिरहेको छ ।








