काठमाडौं : कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो ।
यस्तै सेकेण्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रअनरअप बिक्की अग्रवाल बन्न सफल भए ।
पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्। उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन्।
आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए।
आत्मविश्वासका साथ स्टेजमा उत्रिने उनी पूर्वेली लवजमा सहजताका साथ कमेडी गर्न सक्छन्। त्यसैले उनी आफ्ना सबै प्रस्तुतिमार्फत दर्शकलाई बाँधिराख्न र अपिल गर्न सफल रहे। मासअपिल गर्न सक्नु भरतमणिको बलियो पक्ष हो। यही कारण उनी प्रतियोगिताभर अरूमाथि हाबी भइरहे भन्दा फरक पर्दैन।
यसमा उनको पूर्वअनुभवले पनि साथ दियो। ताप्लेजुङवासी उनी रेडियो तमोरमा ‘टेन्सन-फ्री’कार्यक्रम चलाउँथे। यही कार्यक्रममार्फत उनले पूर्वाञ्चल हुँदै काठमाडौंसम्म आइपुग्ने आधार बनाएका हुन्। उनले भद्रगोल टेलिशृंखलामा समेत अभिनय गरेका छन्। कमेडी च्याम्पियन(२ का निर्णायकमध्ये एक मनोज गजुरेलसँग लामो संगत गरेका उनीसँगै भरतमणिले रेडियो नेपालमा कायर्क्रमसमेत चलाएका थिए।
यस्तै अनुभवले उनलाई कमेडी च्याम्पियनमा खारिएको प्रस्तुति दिन सक्षम बनाएको हो।