गृहपृष्ठ खबर लुम्बिनी प्रदेश : संसदीय समिति सभापतिविहीन

लुम्बिनी प्रदेश : संसदीय समिति सभापतिविहीन

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेशका चार विषयगत संसदीय समिति नेतृत्वविहीन बनेका छन् । समिति सभापति रहेका सांसदको पद निलम्बन, राजीनामा र सरकारमा सहभागिताले ६ मध्ये चार समिति नेतृत्वविहीन बनेका हुन् ।

माओवादी केन्द्रबाट निर्वाचित भए पनि नेकपा विभाजन हुँदा एमाले रोजेका दधिराम न्यौपाने चैत २३ मा निलम्बनमा परे । उनी निलम्बन भएसँगै उनले सम्हालेको अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति पद अहिलेसम्म खाली छ । वैशाख १९ मा एमालेका सांसद दीर्घनारायण पाण्डेयले प्रदेश सभा सदस्यबाट राजीनामा दिए । उनको राजीनामासँगै उनी सभापति रहेको सामाजिक विकास समितिको सभापति पद पनि खाली छ ।

यसबीचमा ज्येष्ठ नागरिकको अध्यक्षतामा सामाजिक समितिको एउटा बैठक बस्यो । तर, अर्थ, उद्योग तथा पर्यटन समितिको बैठक भने बसेको छैन । समितिमा आएका गुनासा त्यत्तिकै थन्किएका छन् । ‘नागरिकका अनेकखाले गुनासा आइरहेका हुन्छन् । कुनै समस्या त तत्काल अध्ययन अनुगमन गर्ने र सरकारलाई सुझाव दिने खालका हुन्छन्,’ अर्थ, उद्योग तथा पर्यटन समिति सदस्य थानकुमारी थापाले भनिन्, ‘बैठक नै नबसालेपछि गुनासा गुनासामै सीमित छन् । हामी बेकामे छौं ।’

साउन २९ मा गठबन्धन सरकारबाट कांग्रेसका डिल्लीबहादुर चौधरी र जनता समाजवादी पार्टीका विजयबहादुर यादव मन्त्री बने । चौधरीले सम्हालेको सार्वजनिक लेखा समिति र यादवले नेतृत्व गरेको कृषि, वन तथा वातावरण समिति पनि अहिले सभापतिविहीन छन् । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले मन्त्रिपरिषद् विस्तार नै पूरा नभएकाले संसदीय समितिका सभापति चयन गर्न नसकिएको बताए ।

सम्बन्धित् समाचार