गृहपृष्ठ Featured व्यवसायी एवम् समाजसेवी रमेश महर्जनको निधन

व्यवसायी एवम् समाजसेवी रमेश महर्जनको निधन

प्रकाशित मिति:

काठमाडौं : आरबी डाइमण्ड ज्वेलर्सका सञ्चालक तथा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड-१९ का कारण निधन भएको छ।

महर्जनसँगै उनकी श्रीमती र परिवारका अन्य सबै सदस्यलाई कोरोना संक्रमण भएको थियो। परिवारका अन्य सदस्य कोरोना संक्रमण मुक्त भएपनि उनको भने कोभिड पहिचान भएको एक साता पनि नबित्दै उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो।

स्वास्थ्यमा असहज महशुस भएपछि महर्जनले गत असोज २६ मा पीसीआर परीक्षण गराएका थिए। पीसीआर परीक्षण गर्दा सीटी भ्यालु २१, २२ सहित उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।

स्वास्थ्य अवस्था क्रमशस् बिग्रिँदै गएपछि उनको सोमबार बिहान ११ बजे उपचारका क्रममा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ। मंगलबार उनको अन्त्येष्टी गरिने पारिवारिक स्रोतले बताएको छ। ५६ वर्षीय महर्जनका एक छोरा र दुई छोरी छन्।

महर्जन साझा पार्टीका केन्द्रिय सदस्यसमेत थिए। उनी गत स्थानीय चुनावमा साझा पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा समेत उठेका थिए। साझा पार्टीका तर्फबाट गत संसदीय निर्वाचनमा समानुपातिकतर्फको प्रतिनिधिसभा उम्मेदवार बनेका थिए।

महर्जनकै पहलमा ललितपुरको पिलाछेंमा पुराना बस्तीलाई मौलिक पहिचानसहितको बस्तीका रुपमा पुनर्निर्माण गर्न हाउस पुलिङ परियोजना पनि अघि बढेको थियो।

उनी नेपाल श्रीलंका चेम्बर अफ कर्मसका अध्यक्षसमेत हुन्। केही समय अघि लुक्लामा अन्तरराष्ट्रिय फेसन सो आयोजनामा पनि उनको महत्वपूर्ण भूमिका थियो।

सम्बन्धित् समाचार