गृहपृष्ठ Featured कृष्णनगरमा हैजा फैलिएको पुष्टि

कृष्णनगरमा हैजा फैलिएको पुष्टि

प्रकाशित मिति:

कपिलवस्तु : कृष्णनगर नगरपालिकाका तीन वडामा झाडापखाला प्रकोप देखिएको दुई सातापछि संक्रामक रोग हैजा फैलिएको पुष्टि भएको छ । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा नमुना परीक्षण गर्दा चार जनामा ‘भिब्रिओ कोलेरा ०१ ओगावा’ ब्याक्टेरिया भेटिएको हो ।

विभिन्न प्रकारका हैजामध्ये यो एउटा हो । २१ नमुनामध्ये तीन पुरुष र एक बालिकामा हैजाका जीवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताए । विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको समन्वयमा नमुना संकलन गरिएको दिसाको १० दिनपछि रिपोर्ट आउँदा हैजा देखिएको हो ।

यसअघि विभिन्न भौगोलिक क्षेत्रका पाँच बिरामीको दिसा लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा एक जनामा हैजाको जीवाणु भेटिएको थियो । थप पुष्टिका लागि टेकु पठाउँदा त्यहाँ पनि हैजा नै पुष्टि भएको हो ।

‘हैजा संक्रमण संवेदनशील विषय हो,’ पाण्डेले भने, ‘प्रामाणिकताका लागि उच्चस्तरीय ल्याबमा नमुना पठाउँदा रिपोर्ट आउन ढिलो भयो, अब हामीमा कुनै सन्देह छैन ।’ फोहोर पानीकै कारण हैजा फैलिएको उनले बताए । संक्रमण फैलिएको ठाउँबाट संकलन गरिएका पानीका १५ नमुनामध्ये ९ वटामा ‘इकोली’ जीवाणु भेटिएको छ । पानीमा इकोली भेटिनु भनेको दिसा मिसिनु हो । त्यो ढलबाट पनि हुन सक्छ । ‘असुरक्षित तरिकाले गर्ने शौचबाट पनि हुन सक्छ,’ उनले भने । झिंगाका माध्यमबाट पनि हुन सक्छ । यो जीवाणुले पानी प्रदूषित छ र दिसामा जीवाणु रहेको देखाउँछ । ‘सरसफाइको कमीले यहाँ हैजाको संक्रमण देखिएको हो,’ उनले भने, ‘त्यो पानीबाटै फैलिएको हो ।’ कृष्णनगरमा देखिएका बिरामीको संख्या अस्वाभाविक भएको उनले बताए ।

१४ दिनदेखि कृष्णनगर–७, ८ र ९ मा फैलिएको प्रकोप नियन्त्रणमा आए पनि जोखिम भने नघटेको शिवराज अस्पतालका मेसु मुकेश चौधरीले बताए । अहिले पनि दैनिक १८र२० जना बिरामी आउने गरेको र १५ जना उपचाररत रहेको उनले बताए ।

हालसम्म ९ सय ६ जना उपचारका लागि अस्पताल आएका छन् । त्यसमध्ये ८ सय ५० जना डिस्चार्ज भएका छन् । सिकिस्त ४१ बिरामीलाई रेफर गरिएको थियो । प्रकोपले दुई बालक, एक बालिका र एक ४५ वर्षे पुरुष गरी चार जनाको मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार