काठमाडौँ : सोमबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले ११९ जनालाई पद्म अवार्ड प्रदान गरे । अवार्ड पाउनेमा नेपालीभाषी साहित्यकार लीलबहादुर क्षेत्रीदेखि खेलाडीद्वय तरुणदीप राई र जितु राई पनि थिए । त्यही सूचीमा ७७ वर्षीया तुलसी गौडा पनि थिइन् ।
पद्मश्री अवार्ड पाउने ७१ जनामध्ये कर्णाटककी यी पर्यावरणविद् पनि थिइन् । यतिबेला अवार्ड लिन जाने बेलाको उनको तस्बिर चर्चित भएको छ । उनी खालि खुट्टै राष्ट्रपति भवन पुगेकी थिइन् ।
यतिबेला उनले अवार्ड पाएको र पर्यावरण संरक्षणमा उनको योगदानबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् । पर्यावरण संरक्षणमा उल्लेख्य योगदान पुर्याएको भन्दै उनलाई पद्मश्री अवार्ड दिइएको हो ।
‘जंगलकी इन्साइक्लोपिडिया’ का रूपमा परिचित तुलसीले अहिलेसम्म ३० हजारभन्दा बढी बिरुवा रोपिसकेकी छिन् । वनजंगल र बोटबिरुवाबारे उनको बृहत् ज्ञानका कारण उनलाई जंगलकी इन्साइक्लोपिडियाको संज्ञा दिइएको हो । उनले हालाक्की आदिवासी समुदायको प्रतिनिधित्व गर्छिन् ।
गरिब परिवारमा जन्मिएकी उनले २ वर्षको उमेरमै बुवालाई गुमाएकी थिइन् । सानै उमेरदेखि आमासँग उनी स्थानीय नर्सरीमा काम गर्न थालिन् । कहिल्यै विद्यालय नगएकी तुलसीको किशोरावस्थामै विवाह भएको थियो । उनी वन विभागमा स्वयंसेवकका रूपमा आबद्ध पनि भएकी थिइन् । जहाँ उनले प्रकृति संरक्षणका क्षेत्रमा निरन्तर काम गरिरहिन् । ७० वर्षको उमेरमा उनले अवकाश लिएकी थिइन् । -रासस










